भदौ १६ ,राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका लागि ल्याइएकी एक नवविवाहिता महिलाको मृत्यु भएको छ। परिवारका सदस्यले उनलाई दाइजोका कारण योजनाबद्ध हत्या गरिएको दाबी गरेका छन्।
शनिबार अस्पताल ल्याइएकी २२ वर्षीया दीपालाई ल्याउने क्रममा नै उनको ज्यान गइसकेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. दिलीपकुमार साहले जानकारी दिए। छिमेक गाउँमा बस्ने आफन्तले फोनमार्फत खबर गरेपछि दीपालाई अस्पताल ल्याइएको खुलेको छ।
मृतककी परिवारका ठुलोबुवा भगवतीप्रसाद यादवका अनुसार, गत ४ असारमा धुमधामका साथ विवाह हुँदा सकेजति दाइजो दिइएको थियो। तर विवाहपछि पनि पति दीपक र ससुरा परशुरामले निरन्तर थप दाइजोको माग गर्दै आएको आरोप उनले लगाए। “हाम्रो तर्फबाट भाइ सञ्जीवले वैदेशिक रोजगारीबाट फर्केर २५ लाख रुपैयाँ खर्च गरेको थियो। थप दहेज दिन सक्ने अवस्था थिएन,” यादवले बताए।
उनले दीपालाई बिरामी परेको भए समयमै जानकारी दिनुपर्नेमा, उल्टै आफैंले पटक–पटक फोन गर्दा पनि नउठाएको आरोप लगाए। “यो योजनाबद्ध हत्या हो, हामीलाई न्याय चाहिन्छ,” यादवले भने।



















