भदौ १४, जनकपुरधाम/पटना बिहार। बिहार प्रहरी मुख्यालयले नेपालमार्फत तीन जना पाकिस्तानी आतंककारी बिहार प्रवेश गरेको भन्ने समाचारलाई असत्य ठहर गरेको छ । प्रहरीका अनुसार हसनैन अली, आदिल हुसैन र मोहम्मद उस्मान नाम गरेका ती तीन जना नेपाल हुँदै भारत नआई मलेसिया प्रस्थान गरिसकेका छन्।
राज्यका अपर पुलिस महानिदेशक (विधि-व्यवस्था) पंकज दारादले शुक्रबार एक प्रेस विज्ञप्तिमार्फत यसबारे जानकारी दिँदै भने, “नेपालमार्फत केही आतंककारी बिहार प्रवेश गरेको भन्ने आशंका आएको थियो। उनीहरूको नाम र पासपोर्ट विवरण पनि सुरक्षातर्फबाट साझा गरिएको थियो। तर अनुसन्धानपछि ती व्यक्तिहरू नेपालबाट मलेसिया पुगेको पुष्टि भएको छ। भारतमा प्रवेश गरेको कुनै प्रमाण भेटिएको छैन।”
उनका अनुसार यो प्रकरण १५ अगस्ट अघिको हो। सो समयमा खुफिया सूचनाका आधारमा भारत–नेपाल सीमा क्षेत्रमा सशस्त्र सीमा बल (एसएसबी), बिहार प्रहरीको विशेष शाखा, अपराध अनुसन्धान विभाग (सीआईडी) र जिल्लास्तरीय प्रहरीलाई सतर्क रहन भनिएको थियो। त्यस अवधिमा सीमावर्ती जिल्लाहरूमा सुरक्षा कडाइका साथ निगरानी र चेकजाँच गरिएको थियो।जाँचक्रममा पाइएको विवरणअनुसार ती तीनै जना दुबईबाट नेपाल आएका भए पनि उनीहरूको जैश-ए-मोहम्मदसँग प्रत्यक्ष सम्बन्ध भएको पुष्टि हुन सकेको छैन।
स्मरणीय छ, केही दिनअघि प्राप्त खुफिया सूचनाका आधारमा पाकिस्तानका रावलपिण्डीका हसनैन अली, उमरकोटका आदिल हुसैन र बहावलपुरका मोहम्मद उस्मान नेपालमार्फत भारत प्रवेश गर्न सक्ने आशंका प्रकट गरिएको थियो। उनीहरू आतंककारी संगठन जैश-ए-मोहम्मदसँग जोडिएको भन्दै गुरुवार मोतिहारी प्रहरीले सूचना दिने व्यक्तिलाई ५० हजार रुपैयाँ इनामको घोषणा समेत गरेको थियो।

















