भदौ १०, जनकपुरधाम।लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले आफ्नो चौथो वार्षिकोत्सव धनुषा जिल्ला कार्यालयमा सोमबार भव्यतापूर्वक सम्पन्न गरेको छ ।
वार्षिकोत्सवको अवसरमा झण्डोतोलन, शुभकामना आदान–प्रदान तथा पदाधिकारी र कार्यकर्ताबीच सहकार्यको प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा जिल्ला तथा प्रदेशस्तरका पदाधिकारी, सदस्य र शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिती रहेको थियो । कार्यक्रममा अध्यक्ष तथा वरिष्ठ नेताहरूले विगत चार वर्षमा पार्टीले हासिल गरेका उपलब्धिहरू, आगामी दिनमा जनतामुखी योजनाहरू, निर्वाचन तयारी र स्थानीय विकासमा केन्द्रित पहलबारे प्रकाश पारेका थिए ।
झण्डोतोलन समारोहमा सहभागीहरूले राष्ट्रिय र पार्टीको झण्डा समान सम्मानका साथ फहराई एकता र सद्भाव प्रकट गरेका थिए ।सो अवसरमा पार्टीका नेताहरूले आगामी दिनमा जनकपुरधाम तथा धनुषा जिल्लामा सामाजिक, राजनीतिक र विकासमूलक गतिविधिलाई अझ प्रभावकारी बनाउन कार्यकर्ताहरू सक्रिय रहनुपर्नेमा जोड दिएका थिए ।















