श्रावण १०, सिरहा। सिरहाको नवराजपुर गाउँपालिका–४ मा प्रहरीको गोली प्रहारपछि एक भारतीय लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिइएको छ। पक्राउ परेका व्यक्तिसँग खैरो हिरोइनसहित मोटरसाइकल बरामद गरिएको सिरहा प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय झाझपट्टी, जिल्ला प्रहरी कार्यालय सिरहा तथा लागूऔषध नियन्त्रण व्युरो (गोलबजार) को संयुक्त टोलीले भारतबाट लागूऔषध लिएर नेपाल प्रवेश गर्ने सूचनाका आधारमा सीमावर्ती क्षेत्रमा विशेष प्वाइन्ट बनाएर निगरानी गरिरहेको थियो।
प्रहरी टोलीमा इलाका प्रहरी कार्यालय झाझपट्टीका प्रहरी नायब निरीक्षक (सई) रामबालक ठाकुर, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी सहायक निरीक्षक (असई) शिव मैनाली तथा लागूऔषध नियन्त्रण ब्युरोका अन्य सुरक्षाकर्मीहरु खटिएका थिए।
सुरक्षा टोलीले भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेको बीआर ३२ एम ७३३८ नम्बरको मोटरसाइकललाई रोक्न खोज्दा चालकले भाग्ने प्रयास गरेपछि प्रहरीले टाइप ७७ पेस्तोलबाट एक राउन्ड गोली प्रहार गरेर उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका व्यक्ति भारतको मधुबनी जिल्लाको ग्रामपंचायत विरपुर–९ निवासी ३८ वर्षीय श्याम सुन्दर पासवान रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी विरेन्द्र पासवानले जानकारी दिए।प्रहरीका अनुसार श्याम सुन्दरको साथबाट करिब ५० ग्राम खैरो हिरोइन बरामद गरिएको छ। उक्त लागूऔषधसहित उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान र आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय महेशपुरपतार पठाइएको छ।घटनास्थलमा हाल थप खानतलासी र सुराकी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
सिरहाको सीमावर्ती क्षेत्र विशेषगरी नवराजपुर, लक्ष्मीपुर, इनरुवा, महेशपुर जस्ता स्थानहरू लागूऔषध ओसारपसारको गोप्य मार्गका रूपमा प्रयोग हुने गरेको प्रहरी स्रोतले बताउँछ।
पछिल्ला महिनाहरूमा प्रहरीको निगरानी र सुराकी सूचना प्रणाली सशक्त बनाइएकाले, लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरू एकपछि अर्को गरी पक्राउ पर्दै आएका छन्।
















