काठमाडौँ महानगरको निर्णय : सार्वजनिक स्थलमा धूम्रपान गरे अब ५०० रुपैयाँ जरिवाना

श्रावण ९, काठमाडौ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थलमा धूम्रपान गर्ने व्यक्तिलाई प्रत्येकपटक ५०० रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ। यो व्यवस्था आर्थिक वर्ष २०८२/८३ को आर्थिक ऐनमार्फत लागू गरिएको हो।

नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिँदै जनगुनासा बढेपछि यस्तो कडाइ गर्नुपरेको बताएका छन्। उनका अनुसार निजी सम्पत्तिभन्दा बाहेकका सबै सार्वजनिक स्थलहरू—जसमा पार्क, सडक, सरकारी कार्यालय परिसर, सार्वजनिक यातायात, बजार क्षेत्र, स्कुल कलेज वरपरलगायत पर्छन्—ती क्षेत्रमा धूम्रपान पूर्णरूपमा निषेध गरिएको छ।

नगर प्रहरी सक्रिय, तत्काल कार्यान्वयन सुरु
नगर प्रहरीले अहिले महानगरको नीति अनुसार नियमित रूपमा अनुगमन गर्न थालेको छ। नियम उल्लङ्घन गर्नेलाई स्पटमै जरिवाना तिराउने र आवश्यक परेमा चेतावनीसहित कानुनी कारबाही समेत गरिने बताइएको छ।

नगर प्रहरी प्रमुख पाण्डेले भने, “धूम्रपानले जनस्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ। आमनागरिकको स्वास्थ्य जोगाउन र वातावरण स्वच्छ राख्न यो कदम चालिएको हो।”

महानगरले यसअघि पनि सार्वजनिक ठाउँमा धूम्रपानमा रोक लगाउने प्रयास गरेको थियो। तर, कार्यान्वयन पक्ष कमजोर भएका कारण प्रभावकारी हुन सकेको थिएन। यो वर्ष आर्थिक ऐनमा नै स्पष्ट व्यवस्था गरिएको भन्दै महानगरले कार्यान्वयनमा कुनै सम्झौता नगर्ने चेतावनी दिएको छ।

  • सम्बन्धित समाचारहरु

    राजनीतिक दलका कार्यक्रममा शिक्षक सहभागी भएको भन्दै शिक्षा विकास इकाइले माग्यो कारबाही

    Read more

    मन्त्रिपरिषद्का ६ निर्णय : स्वास्थ्य सेवा सुधारदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्म

    Read more

    Leave a Reply