१८ करोड खर्चेर सीता पुष्पवाटिका निर्माण सम्पन्न, थप ३ करोड बजेटसहित तेस्रो चरणको तयारी

श्रावण ७, जनकपुरधाम।– बिजि न्युज रिपोर्टर —-जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित ऐतिहासिक मणिमण्डप परिसरमा निर्माण गरिएको ‘सीता पुष्पवाटिका’ को बुधबार एक विशेष समारोहबीच उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले समुद्घाटन गर्नुभयो। धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्व बोकेको यस क्षेत्रलाई वैवाहिक गन्तव्यस्थलको रूपमा विकास गर्ने उद्देश्यले यो परियोजना अघि बढाइएको हो।

समारोहमा मन्त्री सिंहले सीता–राम विवाहसँग सम्बन्धित पवित्र स्थल मणिमण्डपलाई नेपालको गौरवको रूपमा चिनाउँदै यसको संरक्षण, सौन्दर्यीकरण र प्रचार–प्रसारलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो।

“यो केवल जनकपुरधामको सम्पदा होइन, यो सम्पूर्ण नेपाली पहिचानसँग जोडिएको स्थल हो। तीनै तहका सरकारले सहकार्य गरेर बाँकी संरचनाहरू समेत छिट्टै सम्पन्न गरिनेछ,” मन्त्री सिंहले भने।

समारोहमा सहभागी मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सीता पुष्पवाटिकाको निर्माणले हिन्दू धर्मावलम्बीहरूलाई आकर्षित गर्ने धार्मिक पर्यटनको सम्भावना बढाएको धारणा राख्नुभयो। “जनकपुरधाम धार्मिक मात्र होइन, सांस्कृतिक, ऐतिहासिक र आध्यात्मिक नगरी हो। यसको विश्वव्यापी प्रचार आवश्यक छ,” मुख्यमन्त्री सिंहले भने।

मुख्यमन्त्री सिंहले भारत र अन्य मुलुकबाट आउने पर्यटकहरूलाई लक्षित गर्दै सेवा तथा पूर्वाधारको विस्तारका लागि संघीय सरकारलाई आह्वान गर्नुभयो। “सीता पुष्पवाटिका एक सुरुआत हो, समग्र जनकपुरधामको योजनाबद्ध विकास आवश्यक छ,” उहाँले स्पष्ट गर्नुभयो।

यो परियोजनाको निर्माण कार्य २०७५ मंसिर २४ गते सम्झौतासहित प्रारम्भ भएको थियो। भ्याट बाहेक १८ करोड १५ लाख २२ हजार रुपैयाँमा सम्झौता भए पनि तोकिएको समयमै काम सम्पन्न नभएकाले म्याद थप गर्दै २०८२ असोज ३० गतेभित्र सम्पन्न गर्ने गरी पुनः कार्य अगाडि बढाइएको थियो।

हालसम्म निर्माण कार्यमा भ्याट बाहेक १८ करोड ५३ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय, जनकपुरधामले जानकारी दिएको छ। काठमाडौँस्थित रविना कन्स्ट्रक्सन प्रालिले सो परियोजना निर्माणको जिम्मा लिएको हो।

बाँकी रहेका निर्माण कार्यहरू पूरा गर्नका लागि थप ३ करोड रुपैयाँ बजेट छुट्याइएको छ। तेस्रो चरणमा बगैंचा विस्तार, सौन्दर्यीकरण, ढल निकास, पार्क व्यवस्थापन, सूचनामूलक प्यानल र सौर्य बत्तीहरू जडानको काम अघि बढाइने बताइएको छ।

भव्य प्यालेस भवन, जसमा ७० जना अटाउने सभा हल, अट्याच्ड टायलटसहित १६ वटा बेडरुम, डाइनिङ हल, किचन, म्युजियम अफिस कोठा आदि सुविधा छन्।

२ वटा धर्मशाला, जहाँ धार्मिक पर्यटक तथा तीर्थालुहरूका लागि बसोबासको सुविधा उपलब्ध हुनेछ।२ वटा पभेलियन, विवाहमण्डप, र १० कोठे सटर पनि निर्माण गरिएको छ, जसले सहरको व्यापारिक गतिविधिलाई समेत प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

विवाहपञ्चमी, राम–जानकी परिक्रमा, झूलन यात्रा लगायत धार्मिक पर्व तथा मेलामा आउने भक्तजनहरूको बसोबास, विश्राम र सुविधा व्यवस्थापनमा सीता पुष्पवाटिका उपयोगी बन्ने विश्वास गरिएको छ।

 

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more

    Leave a Reply