श्रावण ७,काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा (२०८१ साउन १ गतेदेखि २०८२ असार मसान्तसम्म) वैदेशिक रोजगारीका क्रममा सबैभन्दा ठूलो संख्यामा नेपालीको मृत्यु भएको छ ।
“गतवर्ष वैदेशिक रोजगारीमा मृत्यु भएका एक हजार ५१७ जनाका परिवारलाई आर्थिक सहयाता उपलब्ध गराएका छौं,” वैदेशिक रोजगार बोर्ड सचिवालयका प्रवक्ता गुरुदत्त सुवेदीले भने ।
एकै वर्ष यति ठूलो संख्यामा वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्यु यसअघि भएको थिएन । वैदेशिक रोजगारीका क्रममा एक वर्ष सबैभन्दा ठूलो संख्यामा नेपालीको मृत्यु आर्थिक वर्ष २०७८/७९ मा भएको थियो ।
आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीका क्रममा १ हजार ४७९ जना नेपालीको मृत्यु भएको थियो । बोर्डको तथ्याङ्कअनुसार, गत आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीका क्रममा दैनिक औसतमा ४.१५ जना नेपालीको मृत्यु हुने गरेको देखिन्छ ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने नेपालीको संख्या १२.७० प्रतिशतले वृद्धि भएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगारीमा गएकामध्ये १ हजार ३४६ नेपालीले ज्यान गुमाएका थिए । अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्ष १७१ जना बढीले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका छन् ।
वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार, गत आर्थिक वर्ष २०८१/८२ मा ८ लाख ३९ हाजर २६६ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । यो तथ्याङ्कले दैनिक औसतमा २३ सय नेपाली रोजगारी खोज्दै विदेश जाने गरेको देखाउँछ भने दैनिक औसतमा चार जनाभन्दा बढी नेपालीको ज्यान विदेशी भूमिमा जाने गरेको छ ।
वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मृत्यु हुनेको संख्यामा पनि पछिल्ला वर्षहरुमा बढ्दो छ । बोर्डको तथ्याङ्कअनुसार बितेको १७ वर्षमा वैदेशिक रोजगारीमा गएकामध्ये १४ हजार ८१६ जनाको मृत्यु रोजगारीका क्रममा भएको छ । आर्थिक वर्ष २०६५/६६ देखि २०८१/८२ सम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो ।
बोर्डका अनुसार वैदेशिक रोजगारीमा गएकामध्ये आर्थिक वर्ष २०६५/६६ मा ७८ जना, २०६६/७७ मा ४२१ जना, २०६७/६८ मा ५६४ जना, २०६८/६९ मा ६४७ जना, २०६९/७० मा ७७२ जना, २०७०/७१ मा ८७७ जना, २०७१/७२ मा १ हजार ६ जना २०७२/७३ मा ८२६ जना नेपालीको मृत्यु भएको थियो ।
यस्तै, आर्थिक वर्ष २०७३/७४ मा ७५८ जना, २०७४/७५ मा ८२६ जना, २०७५/७६ मा ७६३ जना, २०७६/७७ मा ६७२ जना, २०७७/७८ मा १ हजार २४३ जना, २०७८/७९ मा १ हजार ४७९ जना, २०७९/८० मा १ हजार २१ जना, २०८०/८१ मा १ हजार ३४६ जना र २०८१/८२ मा १ हजार ५४६ जनाको वैदेशिका रोजगारीका क्रममा मृत्यु भएको बोर्डको तथ्याङ्कले देखाउँछ ।
मृतकको परिवारलाई एक अर्बभन्दा बढी आर्थिक सहायता
वैदेशिक रोजगार बोर्डले गत आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको परिवारलाई एक अर्ब रुपैयाँभन्दा बढी रकम आर्थिक सहायता दिएको छ ।
“गत आर्थिक वर्ष मृतक कादमारका परिवारलाई आर्थिक सहायता स्वरुप १ अर्ब २ करोड ३४ लाख रुपैयाँ दिइएको छ,” बोर्डका प्रवक्ता सुवेदी बताए । उक्त आर्थिक सहायता मृत्यु भएका १ हजार ५१७ जनाको परिवारलाई उपलब्ध गरिएको हो ।
गत आार्थिक वर्ष बोर्डले वैदेशिक रोजगारीका क्रममा अंगभंग तथा गम्भीर बिरामी भएका ८६७ जनालाई आर्थिक सहायता स्वरुप २४ करोड ९९ लाख रुपैयाँ उपलब्ध गरिएको जानकारी प्रवक्ता सुवेदीले दिए ।
गत आर्थिक वर्ष २०८१/८२ मा नै विदेशबाट ४८१ वटा शव झिकाउने क्रममा ३ करोड २५ लाख रुपैयाँ खर्च भएको बोर्डले जनाएको छ । बोर्डका अनुसार, शव ढुवानी गर्ने क्रममा गत आर्थिक वर्ष ३ करोड २५ लाख रुपैयाँ खर्च भएको छ ।
यसको हेडलाईन बनाउनुस
















