श्रावण ७, काठमाडौ । सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०८१/८२ मा वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत जम्मा भएको रकममा योगदानकर्तालाई ब्याज वितरण गरेको छ।
कोषका सूचना अधिकारी डा. रोशन कोजुका अनुसार, २३ लाख ७९ हजार ५८५ जना योगदानकर्ताको खातामा कूल दुई अर्ब ८४ करोड ४२ लाख २८ हजार रुपैयाँभन्दा बढी ब्याज जम्मा गरिएको हो।
गत आर्थिक वर्षमा जम्मा भएको रकममा चैत ४ गतेसम्मको अवधिका लागि ५.५ प्रतिशत र त्यसपछिको अवधिमा ५ प्रतिशत ब्याजदर कायम गरिएको थियो।
हालसम्म सामाजिक सुरक्षा कोषमा २३ लाख ९० हजार १४१ जना योगदानकर्ता सूचीकृत भइसकेका छन्। तीमध्ये औपचारिक क्षेत्रमा ६ लाख ३ हजार ४२६ जना, वैदेशिक रोजगारीतर्फ १७ लाख ८५ हजार ५७३ जना, अनौपचारिक क्षेत्रमा ७२० जना र स्वरोजगारतर्फ ४२२ जना रहेका छन्।
कोषले हालसम्म ८६ अर्ब ८६ करोड रुपैयाँ योगदान सङ्कलन गरिसकेको छ। यस्तै, विभिन्न सामाजिक सुरक्षा सुविधामार्फत १५ अर्ब ७७ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरिसकेको कोषले जनाएको छ।
वर्तमानमा कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुविधा, दुर्घटना तथा अशक्तता, आश्रित परिवार सहायता तथा वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ।
सामाजिक सुरक्षाको दायरामा रहेका योगदानकर्ताका लागि यो ब्याज वितरण योजना थप उत्साहजनक कदमका रूपमा हेरिएको छ। कोषले निकट भविष्यमै अन्य योजनाहरू पनि प्रभावकारी रूपमा कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।
















