१२ कात्तिक , काठमाडौ । चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असरलाई दृष्टिगत गर्दै सरकारले जोखिम न्यूनीकरण, जनधनको सुरक्षा तथा अत्यावश्यक सेवाको सञ्चालनलाई प्रभावकारी बनाउन मातहतका सम्पूर्ण निकायलाई उच्च सतर्कतासहित तयारी अवस्थामा राखेको छ।
भारतको आन्ध्र प्रदेश र विशाखापटनम आसपास प्रभाव पार्ने अनुमान गरिएको उक्त चक्रवात नेपाल आइपुग्दासम्म कमजोर हुने आकलन गरिएको छ। यद्यपि, यसको प्रभावका कारण नेपालका विभिन्न क्षेत्रमा वर्षा, हिमपात तथा केही स्थानमा हावाहुरीको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
सम्भावित मौसमी जोखिमबाट सर्वसाधारणलाई सुरक्षित राख्न सुरक्षा निकायहरूले विभिन्न स्थानमा माइकिङमार्फत सचेतना फैलाइरहेका छन्। स्थानीय प्रशासनले पनि आफ्नो क्षेत्रको जोखिम मूल्याङ्कन गरी आवश्यक पूर्वतयारी र सुरक्षा सतर्कता अपनाउन आह्वान गरेको छ।
यसैबीच, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघले पदयात्रा तथा पर्वतारोहणमा निस्कनुअघि आधिकारिक मौसम पूर्वानुमान अद्यावधिक गरेर मात्र यात्रा तथा आरोहणसम्बन्धी निर्णय लिन पर्यटक र पर्वतारोही टोलीलाई आग्रह गरेका छन्।
हवाई सुरक्षालाई प्राथमिकता दिँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सञ्चालन, हवाई ट्राफिक व्यवस्थापन, धावनमार्ग निरीक्षण, वैकल्पिक उडान योजना तथा सञ्चार र विद्युत् प्रणालीलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको जनाइएको छ।
सरकारले नागरिकलाई सम्भावित मौसमी जोखिमप्रति सचेत रहन, आवश्यक सावधानी अपनाउन तथा भ्रामक सूचना र अफवाहको पछि नलाग्न आग्रह गरेको छ। मौसमसम्बन्धी जानकारीका लागि आधिकारिक निकायबाट जारी हुने सूचनालाई आधार बनाउन पनि सरकारले अपिल गरेको छ।
सम्भावित चक्रवातको प्रभाव कमजोर हुने अनुमान गरिए पनि वर्षा, हिमपात र हावाहुरीको जोखिमलाई बेवास्ता नगरी आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायले जोड दिएका छन्।



















