१३ असोज, सुखिपुर/ सिरहा। सिरहाको सुखीपुर नगरपालिकाले सामाजिक सुरक्षा भत्ताको बक्यौता रकम असोज २४ गतेदेखि असोज मसान्तभित्र लाभग्राहीको बैंक खातामा पठाउने लिखित प्रतिबद्धता जनाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुखीपुर नगर समितिले गर्दै आएको धर्ना कार्यक्रम स्थगित गरेको छ।
आव २०८२/०८३ को वैशाख, जेठ र असार तथा आव २०८३/०८४ को साउन, भदौ र असोज गरी पछिल्लो ६ महिनाको सामाजिक सुरक्षा भत्ता वितरण नभएको भन्दै रास्वपाले असोज १२ गतेदेखि नगर कार्यपालिका कार्यालय परिसरमा शान्तिपूर्ण धर्ना सुरु गरेको थियो।
नगर प्रमुख राम औतार यादवद्वारा हस्ताक्षरित प्रतिबद्धता पत्रमा प्राविधिक त्रुटिका कारण सामाजिक सुरक्षा भत्ता समयमा भुक्तानी हुन नसकेको उल्लेख गर्दै असुविधाप्रति दुःख व्यक्त गरिएको छ। नगरपालिकाले अघिल्लो आर्थिक वर्षको बक्यौता तथा चालू आर्थिक वर्षको दुवै किस्ताको रकम सम्बन्धित बैंकमार्फत असोज २४ गतेदेखि असोज मसान्तभित्र वितरण गर्ने प्रतिबद्धता जनाएको छ।
नगरपालिकाले राजनीतिक दल तथा सरोकारवालालाई आन्दोलनका कार्यक्रम नगर्न र कार्यालय सञ्चालनमा सहयोग गर्नसमेत अपिल गरेको छ।
नगरपालिकाको लिखित प्रतिबद्धता र नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै रास्वपाले असोज १३ गतेदेखि धर्ना कार्यक्रम हाललाई स्थगित गरेको जनाएको छ।
तर, रास्वपा सुखीपुर नगर समितिका नगर सभापति रोशन कुमार यादव र नगर सचिव सन्तोष कुमार राहतद्वारा जारी प्रेस विज्ञप्तिमा माग पूरा नभए पुनः आन्दोलन गर्ने चेतावनी दिइएको छ।
विज्ञप्तिमा असोज २४ गतेभित्र सामाजिक सुरक्षा भत्ता भुक्तानी नभए तेस्रो चरणको कडा आन्दोलनमा जान बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी नगरपालिकाले लिनुपर्ने उल्लेख गरिएको छ।
रास्वपाले जनताको अधिकार, सुशासन, जवाफदेहिता र पारदर्शिताका लागि आफूहरू निरन्तर दृढताका साथ उभिने जनाउँदै यसअघि उठाइएका अन्य जनसरोकारका मागसमेत तत्काल सम्बोधन गर्न नगरपालिकासँग माग गरेको छ।


















