१२ असोज , काठमाडौ । घट्दो जनसंख्या वृद्धिदरलाई सम्बोधन गर्दै सरकारले कर्मचारीलाई लक्षित गरी नयाँ बिदासम्बन्धी व्यवस्था प्रस्ताव गरेको छ।
प्रस्तावअनुसार सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत महिला कर्मचारीले सुत्केरी हुनुअघि र पछि गरी ६ महिनासम्म तलबसहितको सुत्केरी बिदा पाउने व्यवस्था गरिनेछ।
त्यस्तै, पत्नी सुत्केरी हुँदा पुरुष कर्मचारीलाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने प्रस्ताव गरिएको छ। परिवारमा नवजात शिशुको हेरचाह तथा आमालाई सहयोग गर्न पुरुष कर्मचारीलाई समेत पर्याप्त समय उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था प्रस्ताव गरिएको बताइएको छ।
घट्दो जन्मदर र जनसंख्या वृद्धिदरका कारण भविष्यमा उत्पन्न हुन सक्ने जनसांख्यिक चुनौतीलाई ध्यानमा राख्दै सरकारले परिवार तथा सन्तान जन्माउन अनुकूल वातावरण सिर्जना गर्ने उद्देश्यले यस्ता प्रोत्साहनमूलक व्यवस्था अघि सारेको हो।
प्रस्तावित व्यवस्था कार्यान्वयनमा आएमा महिला कर्मचारीलाई सुत्केरी अवस्थामा थप समय आराम तथा नवजात शिशुको हेरचाह गर्न सहज हुने तथा पुरुष कर्मचारीले पनि पत्नी र शिशुको हेरचाहमा पर्याप्त समय दिन सक्ने अपेक्षा गरिएको छ।


















