भारी वर्षाको सम्भावनाबीच प्रधानमन्त्री शाहद्वारा उच्च सतर्कता अपनाउन आग्रह

९ असोज , काठमाडौ ।    प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गतेदेखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा तथा हावाहुरीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री शाहले पूर्वतयारी र सतर्कता नै विपद् व्यवस्थापनको मुख्य आधार भएको भन्दै सम्भावित बाढी, पहिरो, नदी कटान तथा सडक अवरोधलाई ध्यानमा राखेर सरकारले पूर्वतयारी तीव्र बनाएको जानकारी दिएका छन्।

७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको तथा जिल्ला सुरक्षा समितिको बैठक गरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राखिएको जनाइएको छ। नदी तटीय क्षेत्रमा सुरक्षा निकायमार्फत माइकिङ गरी स्थानीयलाई सचेत गराउने कामसमेत भइरहेको छ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा राजमार्गमा यात्रा नगर्न, अनावश्यक लामो दूरीको यात्रा नगर्न र सुरक्षित स्थानमा रहन नागरिकलाई आग्रह गरिएको छ। राजमार्गका सुरक्षा जाँच चौकीबीच समन्वय गरी सडक सुरक्षित रहेको सुनिश्चित भएपछि मात्र सवारी अघि बढाउने ‘रोक, पर्ख र हेर’ (Stop, Hold and Go) नीति लागू गरिएको छ।

त्यस्तै, जोखिमयुक्त सडकखण्डमा एक्स्काभेटर, लोडर र डोजरलगायत भारी उपकरण तयारी अवस्थामा राखिएको छ। सडक डिभिजन कार्यालयलाई २४ घण्टा सक्रिय रहन तथा सडकको अवस्था नियमित सार्वजनिक गर्न निर्देशन दिइएको छ।

हिमाली तथा पहाडी क्षेत्रमा रहेका आन्तरिक तथा विदेशी पर्यटकको सुरक्षाका लागि आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित व्यवसायीलाई समन्वय गर्न भनिएको छ। स्थानीय तहलाई पनि जोखिमयुक्त बस्तीका नागरिकलाई आवश्यकताअनुसार सुरक्षित स्थानमा सार्न तथा स्थानीय विपद् व्यवस्थापन समितिको बैठक गरी पूर्वतयारी गर्न निर्देशन दिइएको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै असोज ९ गते विद्यालयको पठनपाठन आवश्यकता अनुसार सञ्चालन नगर्न र तोकिएका परीक्षा आवश्यकताअनुसार स्थगित गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ। अभिभावकलाई आफ्ना बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका क्षेत्रमा जान नदिन विशेष आग्रह गरिएको छ।

अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक जनशक्ति र औषधि–सामग्री तयारी अवस्थामा राख्न तथा आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिइएको छ। खाद्यान्नको मौज्दात कायम राख्न, सडक अवरुद्ध भए वैकल्पिक मार्गबाट अत्यावश्यक वस्तु ढुवानी गर्न तथा कालोबजारी र कृत्रिम अभाव नियन्त्रणका लागि बजार अनुगमन गर्न पनि निर्देशन दिइएको छ।

सरकारले नागरिकलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागका आधिकारिक सूचनालाई आधार मानी सचेत रहन आग्रह गरेको छ।

आपत्कालीन सम्पर्क: हेलो सरकार ११११, हेलो गृह १११२, नेपाल प्रहरी १००, सशस्त्र प्रहरी १११४, स्वास्थ्य हेल्पलाइन १११५ तथा मौसमसम्बन्धी जानकारीका लागि ११५५ मा सम्पर्क गर्न सकिने जनाइएको छ।

 

  • सम्बन्धित समाचारहरु

    माधव नारायणमा प्रधानाध्यापकसहित शिक्षकहरू कांग्रेसको नगर भेलामा खुलेआम सहभागी

    Read more

    सात प्रदेशका २७ स्थानमा नयाँ खेलकुद पूर्वाधार निर्माण गरिने

    Read more