भारी वर्षाको सम्भावनापछि असोज ८ र ९ गते विद्यालय बिदा गर्न शिक्षा मन्त्रालयको आग्रह

८ असोज, काठमाडौ । नेपालका विभिन्न स्थानमा असोज ९ देखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको सम्भावना रहेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थाहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा सम्बन्धित क्षेत्रका विज्ञबाट प्राप्त पूर्वानुमानका आधारमा बाढी, पहिरो, डुबान, नदी कटान, हिमपहिरो, सडक अवरोध तथा विद्युत् र सञ्चार सेवामा अवरोध हुनसक्ने जोखिम रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले विद्यार्थी, बालबालिका, शिक्षक तथा कर्मचारीको सुरक्षा सुनिश्चित गर्न असोज ८ र ९ गते स्थानीय तहसँगको समन्वयमा आवश्यकता अनुसार विद्यालय बिदा गर्न आग्रह गरेको छ।

त्यस्तै, विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायहरूले असोज ९ देखि ११ गतेसम्म तोकिएका परीक्षा आवश्यकताअनुसार स्थगित वा पुनःतालिका गर्न मन्त्रालयले आग्रह गरेको छ।

मन्त्रालयले सुरक्षित विद्यालय भवनलाई आवश्यक परेको अवस्थामा अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न स्थानीय तहलाई सहजीकरण गर्न तथा अभिभावकहरूले बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका क्षेत्रमा जान नदिनसमेत अनुरोध गरेको छ।

शिक्षा मन्त्रालयले विपद्को सम्भावित जोखिमलाई मध्यनजर गर्दै सबै शिक्षण संस्था, स्थानीय तह, शिक्षक, विद्यार्थी, अभिभावक तथा सरोकारवालाबीच आवश्यक समन्वय र सहजीकरण गर्न आग्रह गरेको हो।

  • सम्बन्धित समाचारहरु

    मधेश सरकारले प्रहरीलाई ३५ थान १२५ सीसी सुपर स्प्लेन्डर मोटरसाइकल प्रदान

    Read more

    अब ४८ घण्टाअगावै आकस्मिक बाढीको पूर्वसूचना, बाढी पूर्वानुमान पनि ५ दिनसम्म

    Read more