२ फागुन , काठमाडौ । — उज्यालो नेपाल पार्टी का अध्यक्ष कुलमान घिसिङ ले आफू व्यक्तिगत इच्छाले नभई प्रधानमन्त्रीको आग्रहमा सरकारमा सहभागी भएको बताएका छन्।
काठमाडौंमा आयोजित पार्टी भेलालाई सम्बोधन गर्दै उनले सुशीला कार्की नेतृत्वको सरकारमा जानु आफ्नो प्रारम्भिक निर्णय नभएको स्पष्ट पारे। ‘सुरुमा चुनावका लागि बनेको सरकारमा नजाने भनेको थिएँ, तर प्रधानमन्त्री र जेनजी प्रतिनिधिको आग्रह स्वीकार गरेर जिम्मेवारी लिएको हुँ,’ उनले भने।
घिसिङले संकटको समयमा जिम्मेवारी सम्हालेर छोटो अवधिमै परिणाम दिएको दाबी गरे। ‘संकटको बेलामा जिम्मेवारी लिएर तीन महिनाभित्र डेलिभरी दिएँ, चुनावको वातावरण बनाएर बाहिर आएका छौँ,’ उनले बताए। आफूलाई ‘भगौडा मन्त्री’ भनेर गरिएको आलोचनाप्रति असन्तुष्टि जनाउँदै उनले छोटो अवधिमै देशलाई परिणाम दिएर सरकारबाट बाहिरिएको जिकिर गरे।
ऊर्जा क्षेत्रको आफ्नो अनुभव स्मरण गर्दै उनले लोडसेडिङ अन्त्य गरेको प्रसंग उठाए। ‘देशबाट लोडसेडिङ हटाएँ, अब राजनीतिक क्षेत्रको लोडसेडिङ हटाउन आएको छु,’ उनले भने। राजनीतिक अस्थिरता र अवरोध अन्त्य नगरेसम्म समग्र राष्ट्रिय अवस्था सुधार हुन नसक्ने उनको भनाइ थियो।
घिसिङले आगामी सरकारमार्फत देशलाई आर्थिक समृद्धिको बाटोमा लैजाने लक्ष्यसहित आफू अघि बढिरहेको उल्लेख गरे। उनले आगामी निर्वाचनलाई परिवर्तन र परिणाममुखी शासन स्थापनाको अवसरका रूपमा लिनुपर्नेमा जोड दिए।


















