मंसिर २४, जनकपुरधाम। देशमा उत्पन्न पछिल्लो राजनीतिक अवस्थाको समाधान, सुशासन कायम र व्यापक रूपमा बढेको भ्रष्टाचार तथा बेथितिको अन्त्यका लागि ताजा जनादेश आवश्यक रहेको ठहर गर्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनता प्रगतिशील पार्टी र तराई–मधेश लोकतान्त्रिक पार्टी एकीकृत हुने घोषणा गरेका छन्।
तीन दलका अध्यक्ष—महन्थ ठाकुर, हृदयेश त्रिपाठी र बृषेशचन्द्र लाल—द्वारा जारी संयुक्त विज्ञप्तिमा संवैधानिक निकासको मुख्य बाटो आम निर्वाचन भएको उल्लेख गरिएको छ। साथै, देशमा वास्तविक राष्ट्रिय एकता निर्माणको आधार समान नागरिक अधिकार, राज्यका सबै अंगमा समानुपातिक समावेशिता र विविधताको सम्मान अनिवार्य रहेको बताएका छन्।
विज्ञप्तिमा मधेश, थरुहट, आदिवासी जनजाति, दलित, मुस्लिम सहित सिमान्तिकरणमा पारिएको जनसमूहको अधिकार सुनिश्चित गर्न ठूलो, प्रभावकारी र एकीकृत राजनीतिक शक्ति निर्माण आवश्यक भएको उल्लेख छ। तीन दलले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति आफूहरू प्रतिबद्ध रहेको र त्यसलाई सबल बनाउन सिमान्तिकरणमा परेकाहरूको व्यापक एकता अपरिहार्य रहेको धारणा राखेका छन्।
एकीकृत हुन लागेका दलहरूले मधेश केन्द्रित मात्र नभई देशभरका समावेशी आवाज, राजनीतिक समूह तथा व्यक्तित्वहरूलाई समेत यो अभियानमा सहभागी हुन आग्रह गरेका छन्।

















