श्रावण १०, पर्सा -बिरगंज ।जिल्ला विपद् व्यवस्थापन समिति, पर्साको बैठक २०८२ साल साउन १० गते सम्पन्न भई पाँच महत्वपूर्ण निर्णयहरु पारित गरिएका छन्। बैठकमा धान खेतीमा भएको क्षति, गण्डक नहरको पानी आपूर्ति, डिप बोरिङ्गको अवस्था, उपभोक्ता समूह गठन तथा खानेपानी र सिँचाइ समस्याको तत्काल समाधानका विषयमा विशेष निर्णय लिइएको हो।
बैठकमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन साह सोनार बैठकमा प्रमुख समन्वयकर्ताको रूपमा सहभागी थिए।
निर्णय नं. १: धान खेतीमा क्षतिको मूल्याङ्कन गरी क्षतिपूर्ति प्रस्ताव
बैठकले हालैको खडेरी, पानीको अभाव र रोगव्याधिका कारण धान रोप्न नसकेका, रोपाइँ भए पनि बिरुवा मरेर क्षति व्यहोरेका किसानहरूका लागि कृषि ज्ञान केन्द्र मार्फत क्षतिको मूल्याङ्कन गर्नुपर्ने निर्णय गरेको छ। मूल्याङ्कनपछि प्राप्त तथ्यांक, विवरण र प्रमाण सहित क्षतिपूर्ति सम्बन्धी प्रस्ताव जिल्ला विपद् व्यवस्थापन समितिमा पेश गरिनेछ।
निर्णय नं. २: गण्डक नहरबाट नेपालले सम्झौता अनुसारको पानी नपाएकोप्रति आपत्ति
नेपाल र भारतबीचको गण्डक सम्झौता अनुसार २०२५ जुलाई २२ (२०८१ साउन ६) देखि नेपालले ८५० क्युसेक पानी पाउनुपर्ने भए तापनि, हाल केवल ६०० क्युसेक मात्र आपूर्ति भइरहेको प्रति बैठकले गम्भीर ध्यानाकर्षण गराएको छ।
सम्झौताबमोजिमको पानी प्राप्त गर्न गृह मन्त्रालयमार्फत भारत सरकारसँग तत्काल औपचारिक अनुरोध गर्ने निर्णय गरिएको छ।
निर्णय नं. ३: गण्डक नहर र डिप बोरिङ्गहरुको अवस्थाको अनुगमन
गण्डक नहरमार्फत वितरण भइरहेका पानीको अवस्थाको स्थलगत अनुगमन गर्ने निर्णय गरिएको छ। साथै पर्सा जिल्लाको शहरी क्षेत्र लगायत विभिन्न स्थानमा जडान गरिएका डिप बोरिङ्गहरूको अवस्था, क्षमता, सेवा लाभकर्ता संख्या आदिको विस्तृत अध्ययन तथा अनुगमन गर्ने कार्य अघि बढाइनेछ।
निर्णय नं. ४: उपभोक्ता समूह गठन गरी मिटर जडान
डिप बोरिङ्ग जडान गरिएका क्षेत्रका स्थानीयवासीहरूलाई सहभागी गराई उपभोक्ता समूह वा समिति गठन गरिने निर्णय बैठकमा गरियो।
त्यसपछि उक्त समूहको नाममा नेपाल विद्युत प्राधिकरणमार्फत विद्युतीय मिटर जडान गरिनेछ। यस कार्यको सहजीकरण सम्बन्धित वडा अध्यक्षहरू र प्राधिकरणले संयुक्तरूपमा गर्नेछन्।
निर्णय नं. ५: खानेपानी र सिँचाइ समस्याको तत्काल समाधानका लागि समिति गठन
जिल्लामा देखिएका खानेपानी र सिँचाइसम्बन्धी समस्याको समाधानका लागि जिल्ला समन्वय समितिका प्रमुख श्री निरञ्जन साह सोनारको संयोजकत्वमा एक कार्यदल समिति गठन गरिएको छ।
समितिले समस्या समाधानको दीर्घकालीन योजना निर्माणका साथै तत्कालका लागि आवश्यक समन्वय र कार्यान्वयन गर्न सक्नेछ।
पर्सा जिल्लामा हाल देखिएको जल संकट, सिँचाइ अभाव, डिप बोरिङ्गको कार्यान्वयन जस्ता समस्यालाई सम्बोधन गर्न बैठकले समग्र र कार्यान्वयनमुखी निर्णयहरू लिएको छ। खासगरी, गण्डक सम्झौता अनुसारको पानीको माग तथा किसानहरुको क्षति पूर्तिका लागि पहल गरिनु जिल्लावासी किसान तथा उपभोक्ताका लागि राहतको आशा बनेको छ।
















