४ फागुन , जनकपुरधाम। — आगामी निर्वाचन नजिकिँदै जाँदा धनुषा जिल्लाको राजनीतिक समीकरणमा महत्वपूर्ण फेरबदल देखिएको छ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) परित्याग गर्दै प्रभावशाली युवा नेता लभ अधिकारी नेपाली कांग्रेस मा प्रवेश गरेका छन्।
जनकपुरधाममा आयोजित कार्यक्रममा कांग्रेस नेता तथा धनुषा निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार विमलेन्द्र निधि ले अधिकारीलाई पार्टी सदस्यता प्रदान गर्दै स्वागत गरे। कार्यक्रममा नेता निधिले युवाको सक्रिय सहभागिताले लोकतन्त्र सुदृढीकरण र क्षेत्रीय विकास अभियानलाई थप बल पुग्ने बताए। अधिकारीलाई पार्टीभित्र उचित जिम्मेवारी दिने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।
नवप्रवेशी अधिकारीले वर्तमान राजनीतिक सन्दर्भमा मधेशको अधिकार, समावेशिता र विकासका मुद्दा कांग्रेसबाटै प्रभावकारी रूपमा उठ्न सक्ने विश्वास व्यक्त गरे। उनले निधिको नेतृत्व र विकासमुखी दृष्टिकोणबाट प्रभावित भएर पार्टी परिवर्तन गरेको स्पष्ट पारे।
धनुषा–३ मा कांग्रेस उम्मेदवार निधि र एमालेकी उम्मेदवार जुली महतो बीच प्रतिस्पर्धा भइरहेको सन्दर्भमा अधिकारीको प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार चुनावी माहोल तातिरहेका बेला एमालेका सक्रिय युवा नेता कांग्रेसमा प्रवेश गर्नुले स्थानीय तहमा संगठनात्मक सन्तुलनमा प्रभाव पार्न सक्छ।
निर्वाचन नजिकिँदै जाँदा दलहरूबीचको दलीय तानातान तीव्र बन्दै गएको छ भने यस्ता प्रवेश–निर्गमनले धनुषाको चुनावी समीकरणलाई थप रोचक बनाएको छ।


















