श्रावण १२, जनकपुरधाम। मिथिलाञ्चलको ऐतिहासिक, सांस्कृतिक र धार्मिक धरोहर स्वरूप चिनिने झुलनोत्सव पर्व जनकपुरधाममा भक्तिभावका साथ राती देखि सुरु भएको छ। साउन शुक्ल तृतीयादेखि प्रारम्भ हुने यो पर्वको विधिवत् उद्घाटन आइतबार जनकपुरधामस्थित जानकी मन्दिरमा गरिएको हो। झुलनोत्सव प्रारम्भ हुनुअघि बाह्र विघा मैदानमा परम्परागत रूपमा मनाइने ‘मणिपर्व’ सम्पन्न गरिएको थियो।
झुलनोत्सव पन्ध्र दिनसम्म निरन्तर मनाइने विशेष पर्व हो, जसको उल्लास जनकपुरधामका प्रमुख मठमन्दिरहरूमा देखिएको छ। प्रत्येक साँझ जानकी मन्दिर परिसरमा भगवान राम र सीताको मूर्तिलाई परम्परागत शैलीमा सजाइएको झुलामा राखी झुलाउने परम्परा अनुसार पूजाआजा तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिन्छन्।
जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासका अनुसार, झुलनोत्सवको परम्परा त्रेतायुगदेखि नै सुरु भएको मानिन्छ। उनका अनुसार, जानकी मन्दिरका प्रथम महन्थ सुर किशोर दास वैष्णवबाट यस पर्वलाई संस्थागत रूपमा मनाउन थालिएको हो। “भगवान राम र जानकी झुलामा झुलेको जनविश्वासले यो पर्वलाई जीवित राखेको छ,” महन्थ दासले बताए।
पर्वका क्रममा साँझपख मन्दिर परिसर मिथिलाको परम्परागत झुला गीत र कजरी संगीतले गुञ्जिने गर्छ। विशेषगरी महिलाहरूको समूहले झुला गीत गाउने परम्पराले वातावरणमा भक्तिभाव थपिने गरेको छ। श्रद्धालुहरूले फूलपाती, पञ्चामृत, नैवेद्य अर्पण गरी पूजाअर्चनामा सहभागी हुने गर्छन्।
जानकी मन्दिरसँगै रत्नसागर मन्दिर, राम मन्दिर, अग्निकुण्ड, बिहारकुण्ड लगायत जनकपुरका अन्य धार्मिक स्थलहरूमा पनि झुलनोत्सवको अवसरमा उल्लेखनीय भीड देखिएको छ। केवल जनकपुरमै होइन, मधेश प्रदेशका सिरहा, सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सालगायत जिल्लाहरूमा समेत झुला पर्वको व्यापक प्रभाव परेको छ।
भारतको बिहार राज्यबाट समेत हजारौँको संख्यामा श्रद्धालु तथा पर्यटकहरू जनकपुरधाम आइपुगेका छन्। आन्तरिक र भारतीय पर्यटकहरूको सक्रिय सहभागिताले झुलनोत्सवलाई अझ भव्य बनाएको छ।
झुलनोत्सव साउन शुक्ल पूर्णिमाको रात १२ बजे झुलाको डोरी विधिपूर्वक काटेर समापन गरिन्छ। यो क्षण पर्वको चरम उत्सवका रूपमा मनाइन्छ। प्रत्येक दिनको झुला कार्यक्रम रंगीन बत्तीहरू, पूजा, भजन, गीत र नाचको संगमका रूपमा सञ्चालन हुँदै जनकपुरधामलाई आध्यात्मिक र सांस्कृतिक झिलिमिलीमा सजाउने गर्दछ।
















