अर्थमन्त्रीलाई ज्ञानेन्द्र शाहीको चुनौती– ‘हिम्मत छ भने संसदीय छानबिन समिति बनाएर देखाउनुस्’

२९ जेठ, काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाही ले अर्थमन्त्री स्वर्णिम वाग्ले लाई संसदीय छानबिन समिति गठन गरेर आफूलाई निर्दोष सावित गर्न चुनौती दिएका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै सांसद शाहीले संसद्मा अर्थमन्त्रीले दिएको अभिव्यक्ति र प्रस्तुत शैलीप्रति आपत्ति जनाएका हुन्। उनले अर्थमन्त्रीले ‘२ अर्ब होइन, दुई रुपैयाँ मात्रै घोटाला भएको देखाउन’ दिएको चुनौती उल्लेख गर्दै निष्पक्ष संसदीय छानबिनबाट किन पछि हट्न खोजिएको भनी प्रश्न गरेका छन्।
“यदि हिम्मत र दम छ भने संसदीय छानबिन गराएर देखाउनुस्। किन डराउनुभएको छ संसदीय छानबिन समिति बनाउन ?” शाहीले लेखेका छन्।
उनले संसदीय छानबिन समितिमार्फत सत्यतथ्य बाहिर आएपछि दोषी र निर्दोष को हो भन्ने विषय स्वतः स्पष्ट हुने बताएका छन्। लोकतान्त्रिक व्यवस्थामा आफूखुसी निर्णय गर्ने प्रवृत्ति स्वीकार्य नहुने उल्लेख गर्दै उनले सत्य स्थापित गर्न स्वतन्त्र र निष्पक्ष छानबिन आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।
यसै क्रममा शाहीले अर्थमन्त्रीले विगतका फाइलहरू खोल्ने चेतावनी दिएको प्रसंग उठाउँदै सबै फाइल सार्वजनिक गर्न चुनौती दिएका छन्। विशेषगरी उनले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी फाइलसमेत खोल्न माग गरेका छन्।
“फाइल खोलौं भनेर धम्की दिनुभएको छ। खोल्नुस् न फाइल, कसले रोकेको छ ? राष्ट्रघाती एमसीसीको फाइल पनि खोलौं,” उनले लेखेका छन्।
एमसीसी सम्झौता तयार पार्ने तथा संसद्बाट अनुमोदन गराउने प्रक्रियामा संलग्न व्यक्तिहरूको भूमिका र आर्थिक कारोबारबारे समेत तथ्य सार्वजनिक गर्नुपर्ने उनको माग छ। जनतालाई सत्य जान्ने अधिकार रहेको उल्लेख गर्दै उनले सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि सबै विषयमा निष्पक्ष अनुसन्धान हुनुपर्ने बताएका छन्।
सांसद शाहीले सत्ताको आडमा कुनै पनि व्यक्ति अनुसन्धान वा छानबिनबाट उम्किन नपाउने भन्दै लोकतन्त्रमा सबैका लागि एउटै मापदण्ड लागू हुनुपर्नेमा जोड दिएका छन्।

  • सम्बन्धित समाचारहरु

    सुनसरी घटनामा ओलीको सरकारलाई चेतावनी : ‘हिंसात्मक कदम रोक्नुस्, संवादबाट समाधान खोज्नुस्’

    Read more

    सुनसरी घटनाले पूर्वराजा ज्ञानेन्द्र चिन्तित, सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि गरे अपिल

    Read more