यसै वर्ष बंगलादेश फर्किन्छु, मृत्युसँग डर छैन’ : पूर्वप्रधानमन्त्री शेख हसिना

१५ असार , काठमाडौ । भारतमा निर्वासन जीवन बिताइरहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले यसै वर्षको अन्त्यसम्म स्वदेश फर्किने घोषणा गरेकी छन्। सन् २०२४ मा सत्ताच्युत भएपछि भारतमा रहेकी हसिनाले आफूलाई मृत्युसँग कुनै डर नभएको पनि बताएकी छन्।
भारतीय सञ्चारमाध्यम एनडीटीभीका अनुसार हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाका लागि नभई बंगलादेशी जनताको राजनीतिक अधिकार, लोकतन्त्रको पुनःस्थापना, कानूनी शासन र मुक्ति संग्रामको भावनाको रक्षा गर्नका लागि भएको दाबी गरेकी छन्।
उनले अवामी लिग केवल एउटा राजनीतिक दल नभई एउटा शक्तिशाली आन्दोलन भएको उल्लेख गर्दै अल्पसंख्यकमाथि हुने कुनै पनि आक्रमण बंगलादेशको स्वतन्त्रतामाथिको आक्रमणसरह हुने टिप्पणी गरिन्।
हसिनाको यो अभिव्यक्ति बंगलादेशमा प्रतिबन्धित अवामी लिग ग्रामीण तथा शहरी क्षेत्रमा पुनः सक्रिय हुन थालेको चर्चा चलिरहेका बेला आएको हो। सोही परिस्थितिलाई ध्यानमा राख्दै तारिक रहमान नेतृत्वको वर्तमान सरकारले अवामी लिगका सदस्यलाई स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्न अनुमति दिएको बताइएको छ।
हसिनाले स्वदेश फर्किने घोषणा गरेपछि सत्तारूढ बीएनपी र जमात–ए–इस्लामीका नेताहरूले मानवताविरुद्धका अपराधसम्बन्धी मुद्दामा उनीविरुद्ध सुनाइएको मृत्युदण्ड र अन्य विचाराधीन मुद्दाको स्मरण गराएका छन्।
यसको जवाफमा हसिनाले आफू मृत्युसँग नडराउने बताउँदै सन् १९७५ मा आफ्ना बुबाआमा, दाजुभाइ तथा परिवारका अधिकांश सदस्य गुमाएको र आफूलाई ग्रिनेड आक्रमणबाट मार्ने प्रयाससमेत भएको स्मरण गरिन्। अनेक षड्यन्त्रका बाबजुद आफू सधैं बंगलादेशी जनताको पक्षमा उभिएको उनको भनाइ छ।
उनले आफूमाथि सुनाइएको मृत्युदण्डको फैसला अवैध, असंवैधानिक र राजनीतिक प्रतिशोधबाट प्रेरित भएको आरोप पनि लगाइन्।
साथै, हसिनाले वर्तमान बीएनपी नेतृत्वको सरकार र मोहम्मद युनुस नेतृत्वको अघिल्लो अन्तरिम सरकारको समेत आलोचना गर्दै बंगलादेशमा लोकतन्त्र, कानूनी शासन र नागरिक सुरक्षाको अभाव रहेको, अर्थतन्त्र कमजोर बनेको, अल्पसंख्यकमाथि आक्रमण बढेको र उग्रवाद फैलिरहेको दाबी गरिन्।

  • सम्बन्धित समाचारहरु

    जनकपुरधाम उपमहानगरपालिकाद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, शान्ति र संयमताका लागि अपिल

    Read more

    धनुषामा सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता, अफवाह फैलाउने गतिविधि निरुत्साहित गर्ने निर्णय

    Read more