मधेशसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन विपद् प्राधिकरणको अपिल

१४ असार ,काठमाडौं । — राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) ले असार १६ र १७ गते देशका विभिन्न क्षेत्रमा भारी वर्षा, मेघगर्जन र चट्याङको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्राधिकरणले आइतबार जारी गरेको सूचनाअनुसार जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश का पहाडी तथा तराईका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा हुने सम्भावना रहेको छ। केही स्थानमा अति भारी वर्षा समेत हुन सक्ने जनाइएको छ।

यसका साथै देशका पहाडी र तराईका धेरै स्थान तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको प्राधिकरणले जनाएको छ।

भारी वर्षाका कारण अकस्मात् बाढी, पहिरो, भूक्षय, गेग्रान बहाव, नदी कटान तथा तराई क्षेत्रमा डुबान को जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न अनुरोध गरिएको छ।

प्राधिकरणले बाढी आउन सक्ने खोला तथा नदी किनार, पहिरोको जोखिम भएका क्षेत्र र भिरालो सडकमा यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। डुबानको जोखिम भएका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा जान र स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वयमा रहन पनि अनुरोध गरिएको छ।

साथै, तीनै तहका सरकार, सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सरोकारवाला निकायलाई उद्धार तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। वर्षा तथा बाढीसम्बन्धी अद्यावधिक जानकारीका लागि जल तथा मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने पूर्वानुमान तथा चेतावनी नियमित रूपमा पालना गर्न पनि आग्रह गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट, महासचिव झा सहित ९ नेता अलग

    Read more

    जनकपुरधामको चार किल्ला क्षेत्र रामजानकी मन्दिर संरक्षित स्मारक क्षेत्र घोषणा

    Read more