प्रदेश सभा खारेजीको एजेन्डा जनमतमाथिको धोका : राष्ट्रिय मुक्ति पार्टी नेपाल

११ अषाढ, जनकपुरधाम।  राष्ट्रिय मुक्ति पार्टी नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट पारित प्रदेश सभा खारेजीसम्बन्धी एजेन्डाप्रति आपत्ति जनाउँदै त्यसलाई जनमतमाथिको धोका र विश्वासघातको संज्ञा दिएको छ।

पार्टी अध्यक्ष राजेन्द्र महतो द्वारा जारी प्रेस विज्ञप्तिमा नेपाल संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुक भएको उल्लेख गर्दै संघीयता कुनै शासक वा दलले दिएको उपहार नभई मधेश आन्दोलन, थरुहट आन्दोलन, आदिवासी जनजाति आन्दोलन तथा उत्पीडित समुदायहरूको लामो संघर्ष, बलिदान र सहादतबाट प्राप्त उपलब्धि भएको बताइएको छ।

विज्ञप्तिमा निर्वाचनअघि संघीयता, आर्थिक–प्रशासनिक स्वायत्तता तथा अधिकार सुदृढीकरणको पक्षमा अभिव्यक्ति दिने राजनीतिक शक्तिले निर्वाचनपछि प्रदेश सभा खारेजीको प्रस्ताव अघि सार्नु राजनीतिक असंगति मात्र नभई जनतासँग गरिएको वाचाको उल्लंघन भएको उल्लेख गरिएको छ।

राष्ट्रिय मुक्ति पार्टीले मधेश, थरुहट तथा संघीयतामाथि विश्वास गरेर मतदान गरेका लाखौं मतदाताको भावनामाथि प्रहार भएको दाबी गर्दै प्रदेश सभा खारेजीको एजेन्डा जनमतविपरीत रहेको जनाएको छ।

विज्ञप्तिमा नेपालको समस्या संघीयता नभई अपूर्ण संघीयता रहेको उल्लेख गर्दै संघीयतालाई अझ सुदृढ, प्रभावकारी र जनमुखी बनाउनु आवश्यक रहेको धारणा व्यक्त गरिएको छ। पार्टीले संघीयता, स्वशासन, पहिचान र सीमान्तकृत समुदायका अधिकारको पक्षमा निरन्तर उभिने प्रतिबद्धता पनि जनाएको छ।

साथै, वर्तमान सरकार र रास्वपालाई निर्वाचनका क्रममा जनतासँग गरेका प्रतिबद्धताहरू स्मरण गराउँदै संघीयतालाई कमजोर बनाउने नभई जनमतको कदर गर्दै थप बलियो बनाउने दिशामा अघि बढ्न आग्रह गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    सम्झौताको हल्ला अस्वीकार गर्दै राष्ट्रिय एकता दल, अध्यक्ष विनय यादवको अनशन जारी

    Read more

    संयुक्त हिन्दु मोर्चाले सरकारसमक्ष १३ बुँदे मागपत्र बुझायो

    Read more