३० जेठ , काठमाडौ । गुठी संस्थान ले धनुषा जिल्लास्थित राजगढी मठ–मन्दिर परिसर, पोखरी तथा गुठीअन्तर्गतका जग्गामा भएको अतिक्रमण तत्काल हटाउन सार्वजनिक सूचना जारी गरेको छ।
गुठी संस्थान प्रधान कार्यालय, त्रिपुरेश्वरले प्रकाशित गरेको सूचनाअनुसार राजगुठी मठ–मन्दिर परिसर, पोखरीको डिल तथा गुठी स्वामित्वका जग्गामा विभिन्न व्यक्ति तथा संस्थाले अनधिकृत रूपमा अतिक्रमण गरी संरचना निर्माण तथा भोगचलन गरिरहेको पाइएको जनाएको छ।
संस्थानले त्यस्ता अतिक्रमण तत्काल हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्दै सूचनाबमोजिम अतिक्रमण नहटाइए प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।
सूचनामा अतिक्रमित जग्गा खाली नगरे बलपूर्वक हटाउने प्रक्रियासमेत अघि बढाइने उल्लेख गरिएको छ। गुठी संस्थानले सार्वजनिक सम्पत्ति तथा धार्मिक सम्पदाको संरक्षणका लागि आवश्यक सहयोग गर्न स्थानीयवासी र सरोकारवालासँग आग्रह गरेको छ।



















