कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकमा ६ लाख ८७ हजारभन्दा बढी सहभागी, केही जिल्लामा म्याद थप

३० जेठ, काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारीअन्तर्गत सञ्चालन गरिएको क्रियाशील सदस्यता अद्यावधिक अभियानमा हालसम्म ६ लाख ८७ हजार ९३१ जना क्रियाशील सदस्यको विवरण डिजिटल प्रणालीमा प्रविष्ट भएको जनाएको छ।
पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेल को अध्यक्षतामा शुक्रबार बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले अभियानको प्रगति सार्वजनिक गर्दै विभिन्न निर्णय गरेको हो।
समितिका अनुसार डिजिटल प्रणालीमा रहेका कुल ७ लाख ८२ हजार २०९ क्रियाशील सदस्यमध्ये ५ लाख ३८ हजार ६२२ जनाले NCID प्राप्त गरिसकेका छन् भने १ लाख ४९ हजार ३०९ जनाको स्वयं अद्यावधिक फाराम वडा तहमा अनुमोदन प्रक्रियामा रहेको छ।
बैठकले वडा तहमा पुगेका अनलाइन फारामहरू असार ५ गतेभित्र अनुमोदन गर्न निर्देशन दिएको छ। तोकिएको समयभित्र अनुमोदन नभए विधानअनुसार योग्य सदस्यहरूको विवरण केन्द्रबाट स्वतः अनुमोदन गरिने जनाइएको छ।
इन्टरनेट पहुँच कम भएका उच्च हिमाली र विकट पहाडी क्षेत्रका केही जिल्ला तथा बारा र खोटाङमा सदस्यता अद्यावधिकको समय असार ७ गतेसम्म कायम गरिएको छ। विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूका लागि भने उक्त म्याद असार १० गतेसम्म तोकिएको छ।
त्यस्तै, नयाँ क्रियाशील सदस्यता वितरण तथा सदस्यता फाराम प्रविष्ट गर्ने कार्य असार २० गतेसम्म सञ्चालन हुने निर्णय गरिएको छ।
समितिले सदस्यता नवीकरण वा नयाँ सदस्यता लिँदा विधानबमोजिमको शुल्क अनिवार्य बुझाउनुपर्ने स्पष्ट गर्दै शुल्क नबुझाउने सदस्यले १५औँ महाधिवेशन प्रक्रियामा भाग लिन नपाउने जनाएको छ।
बैठकले ३५ वर्षमुनिका युवालाई लक्षित गरी क्रियाशील सदस्यता वितरण अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ। साथै, विविध कारणले सदस्यता अद्यावधिकबाट छुटेका सदस्य तथा वडाहरूलाई निश्चित प्रक्रिया पूरा गरी थप समय माग्न सकिने व्यवस्था गरिएको छ।
समितिले क्रियाशील सदस्यता अद्यावधिक तथा नयाँ वितरणको कार्यले १५औँ महाधिवेशनको मूल कार्यतालिकामा असर नपर्ने गरी आवश्यक समायोजन गर्न केन्द्रीय समितिलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ।

  • सम्बन्धित समाचारहरु

    राजगुठि मठ–मन्दिर र पोखरीको जग्गा अतिक्रमण हटाउन गुठी संस्थानको सार्वजनिक सूचना

    Read more

    वर्षायाममा सडक खन्न रोक, असारदेखि भदौ मसान्तसम्म अनुमति नदिइने

    Read more