वर्षायाममा सडक खन्न रोक, असारदेखि भदौ मसान्तसम्म अनुमति नदिइने

३० जेठ, काठमाडौ  वर्षायाममा सडकको अवस्था थप बिग्रिन नदिन असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्ने कार्यमा रोक लगाइने भएको छ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक विभागको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, बबरमहलले शनिबार सूचना जारी गर्दै उक्त अवधिभर आफ्नो कार्यक्षेत्रभित्र पर्ने सडकहरू खन्न कुनै पनि प्रकारको स्वीकृति नदिइने जनाएको हो।
कार्यालयका अनुसार वर्षायाममा धारा, ढल, विद्युत्, टेलिफोन लगायतका प्रयोजनका लागि सडक खनेपछि तत्काल मर्मतसम्भार गरी पूर्वावस्थामा ल्याउन कठिन हुने भएकाले सडकमा थप क्षति पुग्ने जोखिम रहन्छ। यही अवस्थालाई मध्यनजर गर्दै सडक खन्ने अनुमति अस्थायी रूपमा रोक्ने निर्णय गरिएको जनाइएको छ।
सूचनामा असार १ गतेदेखि भदौ मसान्तसम्म सडक डिभिजनहरूको कार्यक्षेत्रमा पर्ने कुनै पनि सडक खन्न स्वीकृति नदिइने उल्लेख छ।
साथै, अनुमति बिना सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।
कार्यालयले सडक संरक्षण, मर्मतसम्भार तथा सुरक्षित आवागमन सुनिश्चित गर्न सबै सरोकारवाला निकाय र सर्वसाधारणलाई सहयोग गर्न आग्रह गरेको छ।

  • सम्बन्धित समाचारहरु

    राजगुठि मठ–मन्दिर र पोखरीको जग्गा अतिक्रमण हटाउन गुठी संस्थानको सार्वजनिक सूचना

    Read more

    कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकमा ६ लाख ८७ हजारभन्दा बढी सहभागी, केही जिल्लामा म्याद थप

    Read more