२९ जेठ, काभ्रे । बीपी राजमार्ग अन्तर्गत बुच्चाकोट क्षेत्रमा बस दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ। दुर्घटनापछि उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्राप्त जानकारीअनुसार बनेपाबाट रोशी गाउँपालिका–८ खार्पाचोकतर्फ जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस दुर्घटनामा परेको हो। नमोबुद्ध नगरपालिका–२ सेल्फीडाँडा हुँदै रोशीतर्फ गइरहेको बस अचानक दुर्घटनाग्रस्त भएको बताइएको छ।
स्थानीय प्रहरीका अनुसार हालसम्म घटनास्थलबाट सात जनाको शव निकालिएको छ। घाइतेहरूको उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतक र घाइतेको संख्या थपिन सक्ने अनुमान गरिएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ भने घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


















