जनकपुरधाम–अयोध्या सिधा रेल सेवाको तयारी, प्रस्तावित समय तालिका सार्वजनिक

२४ जेठ, जनकपुरधाम।  — माता सीताको जन्मस्थली जनकपुरधाम र प्रभु श्रीरामको नगरी अयोध्यालाई सिधा रेलमार्फत जोड्ने तयारी अगाडि बढेको छ। प्रस्तावित जनकपुर–अयोध्या–जनकपुर एक्सप्रेस रेल सेवाको सम्भावित समय तालिका सार्वजनिक भएसँगै श्रद्धालु तथा सर्वसाधारणमा उत्साह थपिएको छ।
प्रस्तावित समय तालिकाअनुसार रेल प्रत्येक शनिबार दिउँसो १२:४० बजे जनकपुरधामबाट प्रस्थान गर्नेछ। उक्त रेल जयनगर, सीतामढी, रक्सौल, नरकटियागञ्ज र पनियहवा हुँदै आइतबार बिहान ५:०० बजे अयोध्या क्यान्ट स्टेशन पुग्नेछ।
त्यसैगरी फर्किने क्रममा रेल सोमबार साँझ ४:०० बजे अयोध्या क्यान्टबाट प्रस्थान गरी मंगलबार बिहान ८:५० बजे जनकपुरधाम आइपुग्ने प्रस्ताव गरिएको छ।
यो रेल सेवा सञ्चालनमा आएपछि नेपालको जनकपुरधाम र भारतको अयोध्याधामबीच धार्मिक, सांस्कृतिक तथा पर्यटन सम्बन्ध थप सुदृढ हुने अपेक्षा गरिएको छ। साथै, दुवै देशका श्रद्धालुहरूले सहज, सुरक्षित र सिधा रेल यात्राको सुविधा प्राप्त गर्नेछन्।
यद्यपि, रेल सेवासम्बन्धी अन्तिम स्वीकृति तथा औपचारिक घोषणा हुन बाँकी रहेको छ। तर प्रस्तावित समय तालिका सार्वजनिक भएसँगै रामायण सर्किटसँग जोडिएका श्रद्धालु तथा पर्यटन व्यवसायीहरूमा उत्साह देखिएको छ।
धार्मिक महत्वका दुई प्रमुख तीर्थस्थल जनकपुरधाम र अयोध्यालाई रेलमार्फत जोड्ने यो पहल रामायण सर्किटको प्रवर्द्धन तथा नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

  • सम्बन्धित समाचारहरु

    रास्वपा जनकपुरधाम प्रथम नगर सभापतिमा ललन नायक निर्वाचित

    Read more

    आइतबारको बिदा खारेज हुने समाचार गलत, सरकारद्वारा स्पष्ट खण्डन

    Read more