भारतसँग विकास–केन्द्रित साझेदारी चाहन्छ नेपाल : विदेशमन्त्री शिशिर खनाल

२४ जेठ, काठमाडौ । नेपालका विदेशमन्त्री शिशिर खनालले भारतसँग विकास, आर्थिक समृद्धि र प्रविधिमा आधारित साझेदारीलाई थप सुदृढ बनाउन नेपाल इच्छुक रहेको बताएका छन्।
भारतको औपचारिक भ्रमणका क्रममा आइतबार आयोजित एक मिडिया ब्रिफिङमा बोल्दै मन्त्री खनालले नेपाल र भारतबीचको सम्बन्ध केवल भौगोलिक छिमेकीको नभई गहिरो सांस्कृतिक, सभ्यतागत तथा ऐतिहासिक सम्बन्धमा आधारित रहेको बताए।
“हामी केवल नक्सामा छिमेकी होइनौं, एउटै नदी सभ्यताका सन्तान हौं,” उनले भने। उनले दुवै देशबीचको सम्बन्धलाई जनस्तरसम्म पुर्‍याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको पनि उल्लेख गरे।
विदेशमन्त्री खनालले वर्तमान नेपाली नेतृत्वले परम्परागत भूराजनीतिक दृष्टिकोणभन्दा माथि उठेर विकास, पूर्वाधार, कनेक्टिभिटी र आर्थिक रूपान्तरणलाई प्राथमिकता दिएको बताए। उनले विश्वमञ्चमा आर्थिक तथा प्राविधिक शक्तिका रूपमा उदाएको भारतसँग सहकार्य गर्न नेपाल उत्साहित रहेको उल्लेख गरे।
दिल्लीमा भएको उच्चस्तरीय भेटवार्ताका क्रममा भारतीय विदेशमन्त्री एस. जयशंकर सँग व्यापार, ऊर्जा साझेदारी, सीमा–पार पूर्वाधार, जलस्रोत व्यवस्थापन तथा जनस्तरको सम्बन्धका विषयमा विस्तृत छलफल भएको उनले जानकारी दिए।
मन्त्री खनालले नेपाल र भारतबीच डिजिटल भुक्तानी प्रणाली जोड्ने दिशामा महत्वपूर्ण प्रगति भएको उल्लेख गर्दै नेपालको NCHL र भारतको NPCI बीचको सहकार्यबाट सीमा–पार डिजिटल भुक्तानी सेवा सञ्चालनमा आउने बताए। यसबाट दुवै देशका व्यवसायी, पर्यटक तथा सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, भारतको सहयोगमा निर्माण सम्पन्न भएका स्वास्थ्य क्षेत्रका ७२ वटा तथा सांस्कृतिक सम्पदा पुनर्निर्माणसँग सम्बन्धित १२ वटा परियोजना नेपाललाई हस्तान्तरण गरिएको जानकारी पनि उनले दिए। ती परियोजनाहरू २०७२ सालको विनाशकारी भूकम्पपछिको पुनर्निर्माण अभियानअन्तर्गत सम्पन्न भएका हुन्।
विदेशमन्त्री खनालले नेपाल–भारत सम्बन्धलाई पुराना विवाद र भूराजनीतिक प्रतिस्पर्धाको दृष्टिकोणबाट नभई विकास, समृद्धि र साझा हितको आधारमा अगाडि बढाउनुपर्नेमा जोड दिए।

  • सम्बन्धित समाचारहरु

    आइतबारको बिदा खारेज हुने समाचार गलत, सरकारद्वारा स्पष्ट खण्डन

    Read more

    वाराणसीपछि जनकपुरधाममा मासु–मदिरा नीति पुनः चर्चामा, स्थानीय माग बढ्दै

    Read more