जिल्ला प्रशासन कार्यालय काठमाडौंको अपिल: मर्यादित र सुरक्षित रूपमा होली मनाउन आग्रह

१५ फागुन, काठमाडौ । — जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस वर्षको फागू पूर्णिमा (होली) पर्व मर्यादित, अनुशासित र सुरक्षित ढंगले मनाउन सर्वसाधारणमा अपिल गरेको छ। निर्वाचन आचारसंहिता लागू रहेको तथा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रशासनले विभिन्न प्रतिबन्धहरू लागू गरेको जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा हस्ताक्षरित सूचनामा सार्वजनिक स्थानमा होहल्ला गर्ने, झै–झगडा गर्ने तथा मादक पदार्थ सेवन गरी सार्वजनिक मर्यादामा खलल पुर्‍याउने कार्य नगर्न सचेत गराइएको छ। कसैको इच्छाविपरीत रंग दल्ने, लोला हान्ने, पानीको फोहोरा फाल्ने वा कुनै किसिमको जबरजस्ती गरेमा कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।
यस वर्ष होली निर्वाचन अवधिसँग जुधेकाले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न प्रशासनले विशेष जोड दिएको छ। सूचनामा होलीका अवसरमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न, तस्बिर अंकित टिसर्ट, टोपी, गम्छा, ब्याज, मास्क वा लकेट प्रयोग गर्न प्रतिबन्ध लगाइएको उल्लेख छ।
प्रशासनले सर्वसाधारणलाई आफ्नो घरको कम्पाउण्डभित्र परिवार र आफन्तजनसँग मात्र होली मनाउन आग्रह गरेको छ। खुला सडक तथा सार्वजनिक स्थानमा भेला भई भिडभाड गर्न, मेला–महोत्सव आयोजना गर्न तथा मञ्च निर्माण गरी सांगीतिक कार्यक्रम सञ्चालन गर्न रोक लगाइएको छ।
त्यस्तै, होलीको नाममा मादक पदार्थको बिक्री–वितरण तथा सार्वजनिक रूपमा सेवन गर्न पनि निषेध गरिएको छ। नियम उल्लंघन गर्ने जो–कोहीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ।
जिल्ला प्रशासन कार्यालयले सामाजिक सद्भाव, आपसी सम्मान र कानुनी व्यवस्थाको पालना गर्दै सुरक्षित रूपमा होली पर्व मनाउन सबैमा अनुरोध गरेको छ।

  • सम्बन्धित समाचारहरु

    धनुषामा भोलि बिहान ६ बजेदेखि १० बजेसम्म कर्फ्यु आंशिक रूपमा खुला

    Read more

    जनकपुरधाम उपमहानगरपालिकाद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, शान्ति र संयमताका लागि अपिल

    Read more