२ फागुन ,जनकपुरधाम।— मैथिली विकास कोष को आयोजनामा ‘जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०२६’ आगामी फागुन ५ गतेदेखि ८ गतेसम्म जनकपुरधाम मा आयोजना हुने भएको छ।
आज आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत कोषका अध्यक्ष जिवनाथ चौधरी ले महोत्सवको तयारीबारे जानकारी गराएका हुन्। उनका अनुसार महोत्सवको पाँचौँ श्रृंखला शिक्षा तथा संस्कृति मन्त्रालय, मधेश प्रदेश तथा जनकपुरधाम उपमहानगरपालिकाको सहकार्यमा आयोजना हुन लागेको हो।
यसअघि २०७३, २०७५, २०७८ र २०८० सालमा महोत्सवका चार श्रृंखला सफलतापूर्वक सम्पन्न भइसकेका छन्। यसपटकको महोत्सवमा कला, साहित्य, राजनीति, समाज र इतिहासलगायत करिब २० वटा विभिन्न विषयमा विमर्श गरिनेछ।
महोत्सव अन्तर्गत चित्रकला प्रदर्शनी, पुस्तक प्रदर्शनी, मिथिला भोजन प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछन्। साथै नेपाल र भारतका विद्वान, साहित्यकार, गायक–गायिका तथा नाट्य समूहहरूको समेत सहभागिता रहने आयोजकले जनाएको छ।
चार दिनसम्म सञ्चालन हुने महोत्सवले मैथिली भाषा, साहित्य, संस्कृति तथा कलाको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास गरिएको छ। महोत्सवका प्रमुख आकर्षणमा सांस्कृतिक झाँकीसहितको शोभायात्रा , बिद्यार्थी हरुको बिच हुने बिभिन्न प्रतिस्पर्धात्मक कार्यक्रम र उद्घाटन समारोह रहेका छन्। आयोजकले महोत्सव सफल बनाउन सञ्चारकर्मी, साहित्यकार तथा सर्वसाधारणको सहयोगको अपेक्षा गरेको छ।



















