मंसिर २५, बिरगंज । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले पर्सा जिल्लाका सबै चारै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फका उम्मेदवारहरूको नाम सिफारिस गरेको छ। शुक्रबार वीरगन्जमा बसेको जिल्ला कार्य समिति बैठकले एकल नामसहितका सिफारिसहरू केन्द्रमा पठाउने निर्णय गरेको हो।
पर्सा–१ मा प्रत्यक्ष तर्फ पूर्वमन्त्री तथा निवर्तमान सांसद प्रदीप यादवको एकल नाम सिफारिस गरिएको छ। जसपाका उपमहासचिव समेत रहेका यादव २०७४ र २०७९ दुवै निर्वाचनमा यही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। समानुपातिकतर्फ नेक महमद अन्सारी, उमेशलाल सहनी, पवन पञ्जियार, कुमु मानन्धर र रुबैदा खातुनका नामहरू सिफारिस गरिएका छन्।
पर्सा–२ मा प्रत्यक्ष तर्फ प्रेमबाबु पटेलको एकल नाम सिफारिस भएको छ। यस क्षेत्रको समानुपातिकतर्फ नागेन्द्र यादव, हरेन्द्र चौरसिया र बैजन्ती मालाको नाम प्रस्ताव गरिएको जिल्ला नेतृत्वले जनाएको छ।
पर्सा–३ मा प्रत्यक्षतर्फ जनार्दन प्रसाद यादवको एकल नाम सिफारिस गरिएको छ। त्यस्तै, समानुपातिक सूचिमा सलमा खातुनको नामसमेत एकल रूपमा सिफारिस गरिएको छ।
पर्सा–४ मा प्रत्यक्षतर्फ तबरेज अहमदको नाम एकल रूपमा उठाइएको छ भने समानुपातिक सूचिमा रम्भा यादवको नाम एक मात्र सिफारिसका रूपमा पठाइएको छ।
सिफारिस सम्बन्धी निर्णय वीरगन्जको होटल पूजनमा बसेको बैठकले गरेको हो। बैठकको अध्यक्षता जसपा पर्साका अध्यक्ष सिंहासन सा कलवारले गरेका थिए। कार्यक्रममा पूर्वमन्त्री तथा प्रमुख आतिथ्यका रूपमा रहेका प्रदीप यादव, जसपा केन्द्रीय सदस्य तथा वीरगन्ज महानगरका मेयर राजेशमान सिंह, केन्द्रीय सदस्य पुरुषोत्तमलाल झा, पूर्व प्रदेश सभा सदस्य जन्नत अन्सारी लगायतको उपस्थिति थियो।

















