राजनीतिक दलका कार्यक्रममा शिक्षक सहभागी भएको भन्दै शिक्षा विकास इकाइले माग्यो कारबाही

१३ असोज , रौतहट । –प्रेमचन्द्र झा— राजनीतिक दलका कार्यक्रममा सरकारी विद्यालयका शिक्षक तथा प्रधानाध्यापक सहभागी भएको विषयमा शिक्षा विकास तथा समन्वय इकाइ रौतहटले जिल्लाका विभिन्न स्थानीय तहसँग आवश्यक छानबिन तथा कारबाहीका लागि विवरण माग्न थालेको छ।
सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा प्रकाशित सामग्रीलाई आधार बनाउँदै इकाइले जिल्लाका स्थानीय तहलाई पत्राचार गरी शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको भनिएको विषयमा यथार्थ विवरण उपलब्ध गराउन निर्देशन दिएको हो।
शिक्षा विकास तथा समन्वय इकाइ रौतहटले माधवनारायण नगरपालिका, बौधीमाई नगरपालिका र परोहा नगर पालिकलाई पठाएका पत्रहरूमा सम्बन्धित विद्यालयमा कार्यरत शिक्षक तथा प्रधानाध्यापक राजनीतिक दलको कार्यक्रममा सहभागी भएको भन्ने विषय उठाइएको छ। इकाइले सम्बन्धित स्थानीय तहबाट घटनाको वास्तविकता बुझी आवश्यक प्रक्रिया अघि बढाउन भनेको छ।
माधवनारायण नगरपालिकालाई पठाइएको पत्रमा श्रीदेवी माध्यमिक विद्यालय, सुखअवामा कार्यरत प्रधानाध्यापक लखिन्द्र प्रसाद यादव तथा विज्ञान शिक्षक सुरेन्द्र यादव र फुलबरिया प्राथमिक विद्यालयका प्रधानाध्यापक राजकिशोर यादव राजनीतिक दलको कार्यक्रममा सहभागी भएको भन्ने विषय उल्लेख गरिएको छ।
इकाइले ती शिक्षकहरू राजनीतिक दलको कार्यक्रममा सहभागी भएको विषयमा के–कस्तो भएको हो भन्ने यथार्थ विवरण उपलब्ध गराउन नगरपालिकालाई आग्रह गरेको छ। पत्रमा यदि पदीय आचरणविपरीत राजनीतिक दलको कार्यक्रममा सहभागी भएको प्रमाणित भएमा प्रचलित शिक्षा ऐन तथा शिक्षा नियमावलीअनुसार आवश्यक कारबाही गर्नुपर्ने उल्लेख छ।
त्यसैगरी परोहा नगरपालिकाअन्तर्गत ब्रह्म ज्योति माध्यमिक विद्यालय, लौकाहामा कार्यरत प्रधानाध्यापक अरुणकुमार यादव र निम्न माध्यमिक तहका शिक्षक सुनिलकुमार यादव पनि राजनीतिक दलको कार्यक्रममा सहभागी भएको भन्ने विषय सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएको भन्दै सो सम्बन्धमा आवश्यक प्रक्रिया अघि बढाइएको छ।
इकाइले उनीहरूको सहभागिताबारे वास्तविकता बुझी आवश्यक कारबाही गर्न तथा गरिएको कारबाहीको जानकारी कार्यालयमा पठाउन सम्बन्धित स्थानीय तहलाई आग्रह गरेको छ।
यसैबीच बौधीमाई नगरपालिका–अन्तर्गत सरमुजवा प्राथमिक विद्यालयमा कार्यरत शिक्षक दिनेश बैठा राजनीतिक दलको कार्यक्रममा सहभागी भएको भन्ने विषयमा समेत शिक्षा विकास तथा समन्वय इकाइले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएको सामग्रीलाई आधार बनाएर इकाइले यस विषयमा आवश्यक छानबिन तथा कारबाहीको प्रक्रिया अघि बढाउन भनेको हो।
शिक्षा विकास तथा समन्वय इकाइका पत्रहरूमा शिक्षकको राजनीतिक गतिविधिसम्बन्धी विषयमा शिक्षा ऐन २०२८ (संशोधनसहित) तथा शिक्षा नियमावली २०५९ (संशोधनसहित) मा रहेका सम्बन्धित प्रावधानअनुसार आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ।
शिक्षकहरू राजनीतिक दलको कार्यक्रममा सहभागी भएको विषयमा शिक्षा निकायले स्थानीय तहलाई पत्राचार गर्न थालेपछि रौतहटका विद्यालयमा कार्यरत शिक्षकहरूको राजनीतिक गतिविधि पनि निगरानीको विषय बनेको छ। सरकारी विद्यालयमा कार्यरत शिक्षकले पदीय जिम्मेवारी निर्वाह गर्दा राजनीतिक दलको गतिविधिमा संलग्न हुन मिल्ने वा नमिल्ने विषयमा प्रचलित कानुनी तथा आचारसंहिताका प्रावधान कार्यान्वयन गर्न शिक्षा निकायले स्थानीय तहलाई सचेत गराएको देखिन्छ।
इकाइले पठाएका पत्रहरूको बोधार्थ शिक्षा तथा खेलकुद मन्त्रालय, शिक्षा विभाग तथा जिल्ला प्रशासन कार्यालय रौतहटलगायत सम्बन्धित निकायलाई समेत दिएको छ।
तर, पत्रमा नाम उल्लेख भएका शिक्षकहरू दोषी ठहर भइसकेको निष्कर्ष भने निकालिएको छैन। उनीहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको भन्ने विषय सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट आएको सूचनाका आधारमा छानबिनका लागि उठाइएको हो। सम्बन्धित स्थानीय तहले गर्ने छानबिन, शिक्षकहरूको स्पष्टीकरण तथा उपलब्ध प्रमाणका आधारमा मात्र उनीहरूले प्रचलित कानुन तथा पदीय आचरण उल्लंघन गरे–नगरेको यकिन हुने देखिन्छ।
एकै प्रकृतिका विषयमा जिल्लाका विभिन्न स्थानीय तहमा पत्राचार हुन थालेपछि शिक्षकको राजनीतिक गतिविधिमाथि शिक्षा निकायको निगरानी बढेको छ। अब सम्बन्धित स्थानीय तहले इकाइको पत्रअनुसार छानबिन गरी के निर्णय गर्छन् भन्ने विषय महत्वपूर्ण बनेको छ।

  • सम्बन्धित समाचारहरु

    मन्त्रिपरिषद्का ६ निर्णय : स्वास्थ्य सेवा सुधारदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्म

    Read more

    प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच बिदाइ भेट

    Read more