लालबाबु मिश्रको नेतृत्वमा कांग्रेस जनकपुरधाम नगर समिति, ६६ मतान्तरले विजयी

१३ असोज, जनकपुरधाम।  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको जनकपुरधाम उपमहानगरपालिका नगर अधिवेशनबाट लालबाबु मिश्र नगर सभापतिमा निर्वाचित भएका छन् ।

मंगलबार सार्वजनिक मतपरिणामअनुसार मिश्रले २४३ मत प्राप्त गर्दै सभापतिको जिम्मेवारी हात पारेका हुन् । उनका निकटतम प्रतिस्पर्धी परमेश्वर साहले १७७ मत प्राप्त गरे । मिश्र र साहबीचको मतान्तर ६६ रहेको छ ।

सभापति पदका अन्य उम्मेदवार रामप्रसाद पजियारले ५४ तथा संजिवले ४८ मत प्राप्त गरेका छन् ।

नगर समितिको उपसभापतिमा वीरेन्द्रकुमार यादव १८८ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी मनमोहन साहले १६२ मत प्राप्त गरे । महिला उपसभापतिमा फुलकुमारी साह यसअघि नै निर्विरोध निर्वाचित भइसकेकी थिइन् ।

सचिव पदमा रामदयाल यादव १३४ मतसहित निर्वाचित भएका छन् । सचिवका प्रतिस्पर्धी ध्रुवनारायण मिश्रले १२३ र राहुल मिश्रले ११५ मत प्राप्त गरे ।

त्यस्तै, सहसचिवमा ज्ञानेश्वर मण्डल विजयी भएका छन् भने कोषाध्यक्ष सदस्यहरूमध्येबाट चयन हुने व्यवस्था रहेको छ ।

नयाँ नगर कार्यसमितिमा जनकपुरधाम उपमहानगरपालिकाका २५ वटै वडाका नगर सभापतिहरू पदेन सदस्य रहनेछन् । प्रत्येक वडाबाट दुई–दुई जनाका दरले ५० जना सदस्य चयन हुने व्यवस्था छ । जेनजी समूहबाट तीन जना सदस्यसमेत चयन भएका छन् । कार्यसमिति सदस्यमा अनिल मिश्र र रामबाबु यादव रहेका छन् ।

नगर सभापतिमा निर्वाचित मिश्रले नयाँ नेतृत्वको प्राथमिकता संगठनलाई वडास्तरसम्म थप सक्रिय र प्रभावकारी बनाउने रहेको बताएका छन् ।

मिश्र यसअघि नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट जनकपुरधाम नगर सचिवमा सर्वसम्मत निर्वाचित भएका थिए । नगर सचिवका रूपमा उनले २५ वटै वडा कार्यसमितिसँग समन्वय गर्दै संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन तथा पार्टीका गतिविधिलाई जनस्तरसम्म विस्तार गर्ने काममा भूमिका निर्वाह गरेको बताइएको छ ।

स्थानीय, प्रदेश तथा संघीय निर्वाचनका क्रममा पार्टी संगठन परिचालन, विभिन्न तहका समितिबीच समन्वय, क्रियाशील सदस्यता वितरण तथा नवीकरण र अभिलेख व्यवस्थापनमा समेत मिश्र सक्रिय रहेको उल्लेख छ ।

सभापतिमा निर्वाचित भएपछि मिश्रले २५ वटै वडा कार्यसमितिलाई सक्रिय, सक्षम र अधिकारसम्पन्न बनाउने प्रतिबद्धता जनाएका छन् । वडा र नगर समितिबीचको समन्वय मजबुत बनाउँदै पार्टी संगठनलाई जनताको घरदैलोसम्म पुर्‍याउने उनको भनाइ छ ।

उनले कार्यकर्तासँग नियमित संवाद, संगठन सञ्चालनमा पारदर्शिता तथा जवाफदेहिता कायम गर्ने र युवाको नेतृत्व विकासलाई प्राथमिकता दिने बताएका छन् । साथै महिला, दलित, मधेसी, आदिवासी जनजाति तथा अल्पसंख्यकलगायत समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने एजेन्डासमेत अघि सारेका छन् ।

  • सम्बन्धित समाचारहरु

    पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गरी टेकु लगिएको घटनाप्रति सर्वोच्चको ध्यानाकर्षण

    Read more

    सामाजिक सुरक्षा भत्ता भुक्तानी गर्ने नगरपालिकाको प्रतिबद्धता, रास्वपाले स्थगित गर्‍यो धर्ना

    Read more