१४ साउन , काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरी जिल्लाका केही गाउँबस्तीमा भएको आपसी द्वन्द्व तथा विवादबाट जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले घटनाको असर कोशी क्षेत्र तथा तराईका विभिन्न भू–भागमा फैलिँदै जनजीवन अशान्त बनेको भन्दै चिन्ता व्यक्त गरेका हुन्।
‘सद्भाव सन्देश’ जारी गर्दै पूर्वराजा शाहले नेपाली समाज सुरुदेखि नै परस्पर मिलीजुली, हाँसीखुसी र एक–अर्काप्रति माया–प्रीति गाँसिएर बसेको बहुजातीय तथा बहुभाषिक समाज भएको उल्लेख गरेका छन्।
उनले नेपालका विभिन्न समुदायका आ–आफ्नै धर्म, संस्कृति र रीतिथिति रहेको तथा यही विविधताले नेपाली समाजलाई विश्वमा विशिष्ट पहिचान दिएको बताएका छन्। यस्तो धार्मिक, सांस्कृतिक तथा सामाजिक विविधता र गौरवलाई कसैले पनि खलल पार्न नहुने उनको भनाइ छ।
पूर्वराजा शाहले सुनसरी घटनालाई नेपाली समाजको मौलिक मूल्य र मान्यताविपरीतको घटना भएको उल्लेख गर्दै यस्तो अवस्था दोहोरिन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन्।
सन्देशमा भनिएको छ, “जुनसुकै भू–भागमा रहे बसेका जो कोही पनि हामी नेपाली मिलौं।” उनले वर्तमान अवस्थामा सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्नु नै आवश्यक रहेकोमा जोड दिएका छन्।
पूर्वराजा शाहले नेपालको बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक सामाजिक संरचनाबीच आपसी सद्भाव, सहिष्णुता र एकता कायम राख्न सबै नेपालीमा आग्रह गरेका छन्।

















