भारतसँग सबै क्षेत्रमा सहकार्य विस्तार गर्न चाहन्छौँ : परराष्ट्रमन्त्री खनाल

२३ जेठ, काठमाडौ ।  — परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सम्बन्धलाई थप विस्तार र सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
भारतीय सञ्चारमाध्यम एनडीटीभीसँगको विशेष अन्तर्वार्तामा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापना भएको करिब चार वर्षमै जनसमर्थनका आधारमा सरकारको नेतृत्वमा पुगेको उल्लेख गर्दै नेपाल र भारतबीचको बहुआयामिक सम्बन्धलाई अझ मजबुत बनाउने दिशामा सरकार सक्रिय रहेको बताए।
नेपाल र भारतबीच खुला सीमा भए पनि दुवै देशले एकअर्काको सुरक्षा चासोलाई आत्मसात् गर्दै आएको उल्लेख गर्दै मन्त्री खनालले आपसी विश्वास, सहकार्य र हार्दिक सम्बन्धलाई अझ गहिरो बनाउन आवश्यक रहेको धारणा राखे।
हालै मौरिससमा आयोजित एक कार्यक्रममा भारतीय विदेशमन्त्री एस. जयशङ्करसँग भएको भेटवार्ताको प्रसङ्ग उल्लेख गर्दै उनले सम्भावित सबै क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए।
मन्त्री खनालले व्यापार, ऊर्जा, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि तथा सम्पर्क सञ्जालका क्षेत्रमा नेपालले भारतको सहयोग, लगानी र साझेदारीको अपेक्षा गरेको बताए। उनले यी क्षेत्रमा सहकार्य विस्तार भए दुवै देशको आर्थिक विकास र समृद्धिमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।
उनले नेपाल–भारत सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र जनस्तरको सम्बन्धमा आधारित रहेकाले यसलाई नयाँ उचाइमा पुर्‍याउन दुवै देशले मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याए।

  • सम्बन्धित समाचारहरु

    एमाले रूपान्तरणका लागि शंकर पोखरेलले अघि सारे ७ सूत्र

    Read more

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more