२२ जेठ, काठमाडौ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारबाट जनताको आशा र भरोसा पूरा हुनेमा आफूलाई विश्वास नभएको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले दुई तिहाइ जनमत प्राप्त सरकारको दुई महिनाको कार्यशैलीले जनताको अपेक्षा अनुसार परिणाम दिन नसकेको टिप्पणी गरे। उनले सरकारका गतिविधिले जनताको समस्या समाधान गर्ने स्पष्ट आधार नदेखिएको जिकिर गरे।
‘दुई महिनामा दुई तिहाइ मत प्राप्त सरकारको कामकारबाही नेपाली जनताले देखिसकेका छन्। त्यसका आधारमा जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास लागिरहेको छैन,’ उनले भने।
यद्यपि उनले सरकार सफल होस् भन्ने आफूहरूको चाहना रहेको उल्लेख गर्दै जनताले परिवर्तनको अपेक्षासहित ठूलो जनादेश दिएको स्मरण गराए। सरकारले सुशासन, विकास र जनजीविकाका सवालमा प्रभावकारी काम गर्नुपर्ने उनको सुझाव थियो।
घिसिङले सरकारले अपेक्षा अनुरूप काम गर्न नसके जनतालाई निराश हुन नदिने दाबी गर्दै उज्यालो नेपाल पार्टी जनताका मुद्दा उठाउँदै सशक्त राजनीतिक शक्तिका रूपमा अघि बढ्ने बताए। उनले नयाँ राजनीतिक विकल्प खोजिरहेका नागरिकहरूले आफ्नो पार्टीलाई पनि विकल्पका रूपमा लिन थालेको दाबी गरे।
उनले सरकारका कमजोरीप्रति खबरदारी गर्ने र जनताका समस्या समाधानका लागि निरन्तर आवाज उठाइरहने प्रतिबद्धता समेत व्यक्त गरे।


















