नेकपाद्वारा ७ बुँदे निर्णय सार्वजनिक, मंसिरमा महाधिवेशन गर्ने घोषणा

१९ बैशाख , काठमाडौ । — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कार्यसंयोजन समितिको पहिलो बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। बैठकले पार्टी एकता सुदृढीकरणदेखि आगामी महाधिवेशनसम्मका महत्वपूर्ण योजना समेटेर सात बुँदे निष्कर्ष निकालेको हो।
संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता तथा सहसंयोजक माधवकुमार नेपाल को सञ्चालनमा सम्पन्न बैठकले संगठनलाई मजबुत बनाउँदै एकता प्रक्रियालाई अघि बढाउने स्पष्ट मार्गचित्र तय गरेको जनाएको छ।
निर्णयअनुसार पार्टीको एकता राष्ट्रिय महाधिवेशन आगामी २०८३ साल मंसिर ११ देखि १५ गतेसम्म काठमाडौंमा आयोजना गरिनेछ। महाधिवेशनअघि संगठन विस्तार र समायोजनलाई तीव्र बनाउने योजना समेत पारित गरिएको छ।
सबै जनवर्गीय संगठन तथा स्थानीय तहका कमिटीहरूको समायोजन जेठ मसान्तभित्र सम्पन्न गर्ने र त्यसपछि भदौदेखि कात्तिकसम्म वडा, पालिका, जिल्ला तथा प्रदेश तहका अधिवेशनहरू गर्ने कार्यतालिका तय गरिएको छ।
पार्टीले संगठनात्मक संरचनामा युवा तथा नवयुवाको ५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्ने निर्णय गरेको छ, जसलाई नयाँ पुस्तामैत्री संगठन निर्माणतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ।
त्यस्तै, हालै सम्पन्न निर्वाचनको समीक्षा प्रतिवेदन पारित गर्दै संविधान संशोधनका विषयमा सुझाव दिन ११ सदस्यीय कार्यदल गठन गरिएको छ। उक्त कार्यदलमा देव गुरुङ, प्रकाश ज्वाला, रेखा शर्मा, खिमलाल देवकोटा लगायतका नेताहरू रहेका छन्।
बैठकले समसामयिक राजनीतिक विषयमा १९ बुँदे प्रस्ताव समेत पारित गर्दै कम्युनिस्ट आन्दोलनको पुनर्गठन र एकीकृत पार्टी निर्माणतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

  • सम्बन्धित समाचारहरु

    हिमालय क्षेत्रमा ग्लेशियर पग्लिने क्रम तीव्र, नेपालसहित ८ देशलाई खतराको घण्टी

    Read more

    देवानगञ्जमा तनाव चर्कियो : गोली चलेपछि दुई मोटरसाइकलमा आगजनी, ठूलो संख्यामा प्रहरी परिचालन

    Read more