खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिको तयारी, सरकारले तोड्दै पुरानो परम्परा

१६ बैशाख ,काठमाडौं ।— नेपाल सरकारले पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्त गर्ने तयारी थालेको छ। यसअघि परराष्ट्र मन्त्रालयका कर्मचारी तथा सत्तारुढ दलहरूको सिफारिसका आधारमा नियुक्ति हुँदै आएको परम्परा तोड्दै वर्तमान सरकारले योग्यताका आधारमा छनोट प्रक्रिया सुरु गर्न लागेको हो।
परराष्ट्र मन्त्री शिशिर खनालको सचिवालय स्रोतका अनुसार केही राजदूत पदका लागि छिट्टै खुला विज्ञापन आह्वान गरिनेछ। प्रतिस्पर्धाबाट छनोट भएका योग्य व्यक्तिहरूलाई नियुक्त गर्ने योजना बनाइएको छ। सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित सहसचिवहरूको बैठकमा मन्त्री खनालले यस विषयमा छलफल गर्दै केही पदहरू खुला प्रतिस्पर्धाबाट पूर्ति गर्ने संकेत दिएका थिए। उनले यसका लागि प्रधानमन्त्रीको समेत सहमति लिइसकेको बताइएको छ।
स्रोतका अनुसार अर्को हप्ताभित्रै दरखास्त आह्वान हुनसक्ने तयारी छ। हाल प्रचलित ‘राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५’ अनुसार कुल राजदूत पदमध्ये कम्तीमा ५० प्रतिशत क्यारियर कूटनीतिज्ञबाट र बाँकी ५० प्रतिशत राजनीतिक नियुक्तिबाट पूर्ति गर्नुपर्ने व्यवस्था रहेको छ। तर सरकारले नयाँ अभ्यासमार्फत योग्य र प्रतिस्पर्धी व्यक्तिहरूलाई अवसर दिने दिशामा कदम चाल्न लागेको हो।
हाल नेपालका ४४ वटा विदेशस्थित नियोगमध्ये भारत, चीन, अमेरिका, बेलायतलगायत १७ वटा राजदूत पद रिक्त छन्। साथै आगामी जुलाई अन्त्यसम्म ब्राजिल, बहराइन, बंगलादेश, म्यानमार, अष्ट्रिया, ओमान र इजिप्टमा समेत कार्यकाल सकिँदै थप पद रिक्त हुनेछन्। यसरी हेर्दा सरकारले एकैपटक करिब २४ जना राजदूत नियुक्त गर्ने अवस्था देखिएको छ।
केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले नियुक्त गरेका राजदूतहरूलाई पछिल्ला सरकारहरूले फिर्ता बोलाएपछि यी पदहरू खाली भएका हुन्। प्रस्तावित नयाँ प्रणाली लागू भएमा कूटनीतिक क्षेत्रमा पारदर्शिता, प्रतिस्पर्धा र योग्यता आधारित नियुक्तिको अभ्यासलाई बल पुग्ने अपेक्षा गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    संयुक्त हिन्दु मोर्चाले सरकारसमक्ष १३ बुँदे मागपत्र बुझायो

    Read more

    जनकपुरधाममा आन्दोलनरत पक्षसँग सरकारको दोस्रो चरणको वार्ता सुरु

    Read more