जसपा  केन्द्रीय नेताहरू कांग्रेसमा प्रवेश, सर्लाहीको चुनावी समीकरणमा नयाँ मोड

२ फागुन, सर्लाही ।— सर्लाहीमा चुनावी अभियान तीव्र भइरहेका बेला जनता समाजवादी पार्टी (जसपा) का प्रभावशाली केन्द्रीय नेताहरू नेपाली कांग्रेस मा प्रवेश गरेका छन्।
जसपाका वरिष्ठ उपाध्यक्ष केदार नन्दन चौधरी  र नेता मनिष मिश्र तथा नेता केदारसिंह ठटौला सहितका नेता तथा कार्यकर्तालाई कांग्रेस सभापति एवं सर्लाही–४ का उम्मेदवार गगनकुमार थापा ले पार्टीमा औपचारिक रूपमा स्वागत गरेका हुन्।
पार्टी प्रवेश कार्यक्रमका क्रममा थापाले लोकतन्त्र, समावेशिता र विकासको एजेण्डा कार्यान्वयनका लागि कांग्रेस नै उपयुक्त राजनीतिक शक्ति भएको उल्लेख गर्दै नवप्रवेशी नेताहरूलाई पार्टीमा स्वागत गरेका थिए। उनले मधेससहित देशभर कांग्रेसको संगठन थप सुदृढ बन्दै गएको दाबी गरे।
नवप्रवेशी नेताहरूले देशमा स्थिरता, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न कांग्रेसको नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरेका छन्। उनीहरूले जनताको अपेक्षा पूरा गर्न कांग्रेसमार्फत सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।
मधेसको राजनीतिमा प्रभाव राख्ने नेताहरूको कांग्रेस प्रवेशलाई सर्लाहीसहित तराई क्षेत्रमा कांग्रेसको संगठन विस्तार र शक्ति सुदृढीकरणका रूपमा हेरिएको छ। यस घटनाले आगामी प्रतिनिधि सभा निर्वाचनको स्थानीय राजनीतिक समीकरणमा महत्त्वपूर्ण प्रभाव पार्ने विश्लेषण गरिएको छ।
चुनाव नजिकिँदै जाँदा विभिन्न दलबीच नेताहरूको आवतजावत र गठबन्धनका गतिविधि बढ्दै गएको देखिएको छ, जसले चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।

  • सम्बन्धित समाचारहरु

    असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, मौसम विभागले गरायो सतर्क

    Read more

    सामाजिक सुरक्षा भत्ता निकासाको माग गर्दै रास्वपा सुखीपुरद्वारा आन्दोलनको घोषणा

    Read more