प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन न्युयोर्क प्रस्थान

६ असोज , काठमाडौ ।  प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्नुभएको छ। उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा हुँदै न्युयोर्क प्रस्थान गर्नुभएको हो।

प्रधानमन्त्री शाहको यो कार्यभार सम्हालेपछिको पहिलो विदेश भ्रमण हो। उहाँले असोज ८ गते (२४ सेप्टेम्बर) संयुक्त राष्ट्रसङ्घको महासभाको उच्चस्तरीय सामान्य बहसलाई नेपालको तर्फबाट सम्बोधन गर्नुहुने कार्यक्रम छ।

प्रधानमन्त्री शाहले महासभामा नेपालको जलवायु सङ्कट, जलवायु न्याय, विपद्पछिको पुनर्निर्माण, जलवायु वित्त, प्रविधि हस्तान्तरण तथा पर्वतीय मुलुकका सरोकारलगायत विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउने तयारी गरिएको छ।

दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहलाई कतारका लागि नेपालका कार्यवाहक राजदूत तथा नेपाली अधिकारीहरूले स्वागत गर्ने कार्यक्रम छ। त्यसपछि उहाँ असोज ७ गते (२३ सेप्टेम्बर) दोहाबाट न्युयोर्क प्रस्थान गर्नुहुनेछ।

न्युयोर्क पुगेपछि प्रधानमन्त्री शाहलाई संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूतलगायत नेपाली अधिकारीहरूले स्वागत गर्ने कार्यक्रम छ। उहाँले संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा पुगेर भ्रमण तथा महासभामा सहभागितासम्बन्धी ब्रिफिङ लिनुहुनेछ।

असोज ८ गते प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुहुनेछ। त्यसपछि उहाँले महासभालाई सम्बोधन गर्नुहुने कार्यक्रम छ।

प्रधानमन्त्री शाह असोज ९ गते (२५ सेप्टेम्बर) न्युयोर्कबाट दोहा हुँदै स्वदेश फर्कने कार्यक्रमअनुसार असोज १० गते (२६ सेप्टेम्बर) काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नुहुनेछन।

  • सम्बन्धित समाचारहरु

    असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, मौसम विभागले गरायो सतर्क

    Read more

    सामाजिक सुरक्षा भत्ता निकासाको माग गर्दै रास्वपा सुखीपुरद्वारा आन्दोलनको घोषणा

    Read more