भदौ २१, बिराटनगर । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन दलहरूको सहमतिमा मात्र सम्भव हुने स्पष्ट गरेका छन् ।
शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देउवाले संविधान संशोधनका लागि दुई-तिहाइ बहुमत आवश्यक पर्ने भएकाले कार्यदलमार्फत सबै दललाई साथमा लिएर मात्र प्रक्रिया अघि बढाइने बताए ।
उनले कांग्रेस–एमाले गठबन्धनको सरकारले आगामी २०८४ सालको आमनिर्वाचनसम्म निरन्तरता पाउने दाबीसमेत गरे । मन्त्रीहरूको कार्यसम्पादनबारे उठेका प्रश्नमा उनले आफूलाई विस्तृत जानकारी नभएको प्रतिक्रिया दिए ।
सामाजिक सञ्जालसम्बन्धी विवादबारे देउवाले सरकारले सञ्जाल बन्द गर्ने नभई अदालतको आदेशअनुसार आवश्यक प्रक्रिया पूरा गरी दर्ता मात्र गराउन खोजेको स्पष्टिकरण दिए ।
















