मोटरसाइकल दुर्घटनामा ट्राफिक हवल्दार चन्द्रकला महतोको मृत्यु

११ फागुन, जनकपुरधाम।  धनुषामा भएको मोटरसाइकल दुर्घटनामा एक महिला ट्राफिक प्रहरीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–४ स्थित मुरलीचोकमा सिटिजन बैंक अगाडि आज भएको सवारी दुर्घटनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीमा कार्यरत प्रहरी हवल्दार चन्द्रकला महतोको घटनास्थलमै मृत्यु भएको हो। उनी बर्दिवास–पशुपति नगर निवासी थिइन्।
प्रहरीका अनुसार भ्रमरपुरा चोकबाट मुरलीचोकतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ प ०१०४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०२–००२ प ७३५२ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकल चालक महतोको घटनास्थलमै ज्यान गएको जनाइएको छ।
मृतक महतो सञ्चय कोषको रकम बुझ्न जनकपुर गएको अवस्थामा दुर्घटनामा परेकी थिइन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख सुर्यबहादुर शाहीका अनुसार घटनापछि शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ।
हाल टिपर चालकसहित टिपर र मोटरसाइकल ट्राफिक प्रहरी कार्यालय जिरोमाइलको नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more