जसपा नेपालद्वारा आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गर्ने नेताहरूमाथि कारबाही, केही निष्कासित

११ फागुन , जलेश्वर । — जनता समाजवादी पार्टी नेपालले प्रतिनिधि सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग तथा विधानविपरीत गतिविधि गरेको आरोपमा विभिन्न नेताहरूलाई पार्टीबाट निष्कासन गरेको जनाएको छ।
पार्टीले जारी गरेको विज्ञप्तिमा प्रतिनिधि सभाका आधिकारिक उम्मेदवारहरूलाई चुनाव चिन्ह ‘छाता’ छापमा मतदान गरी विजयी बनाउन सम्पूर्ण नेता, कार्यकर्ता तथा आम जनसमुदायमा आह्वान गरिएको छ। साथै, आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि नगर्न मिति २०८२/१०/१९ गते पहिलो पटक र २०८२/११/८ गते अन्तिम पटक सचेत गराइएको उल्लेख गरिएको छ।
पार्टीको हितविपरीत अनुशासन र विधानविपरीत कार्य गरेको ठहर गर्दै तपसिलमा उल्लेखित व्यक्तिहरूलाई आजकै मितिबाट लागू हुने गरी पार्टीबाट निष्कासन गरिएको विज्ञप्तिमा जनाइएको छ।
निष्कासित गरिएकाहरूमा कुशेश्वर सिंह (गौशाला), कुमरकान्त झा, सविता कुमारी देवी, रामनन्दन यादव, मोजिम राइन, सुरेश साह सोनार, संतोष साह, रामजानकी यादव, रामप्रकाश यादव, शम्भु यादव, राहुल पाण्डेय, श्याम यादव र हरि नारायण मण्डल रहेका छन्।
त्यस्तै, श्याम यादव र हरि नारायण मण्डललाई पार्टी केन्द्रीय समितिमा तथा वन्दना पाण्डेयलाई प्रदेश समितिमा निष्कासनका लागि सिफारिस गरिएको पार्टीले जनाएको छ।
पार्टीका संरक्षक महन्त ठाकुरविरुद्ध अभद्र टिप्पणी गरेको आरोपमा हरि नारायण यादवलगायतका नेतामाथि पनि कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ।
पार्टीले आधिकारिक उम्मेदवारविरुद्ध कुनै पनि प्रकारको गतिविधि नगर्न तथा पार्टी निर्णयको पालना गर्न सम्पूर्ण नेता–कार्यकर्तालाई पुनः निर्देशन दिएको छ।

  • सम्बन्धित समाचारहरु

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more

    अडियो प्रकरणमा धनुषाका वरिष्ठ सई जबरालाई निलम्बनको प्रक्रिया अघि बढाइयो

    Read more