२० बैशाख , काठमाडौँ ।— रवि लामिछाने ले सरकार र निजी क्षेत्रबीचको सम्बन्ध टकराव होइन, सहकार्यमा आधारित हुने स्पष्ट पारेका छन्। आइतबार निजी क्षेत्रका प्रतिनिधिहरूसँगको अन्तरक्रियामा उनले सुशासन, आर्थिक सुधार र उत्पादनमुखी अर्थतन्त्रलाई प्राथमिकतामा राखिएको बताएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेले व्यवसायीहरूलाई कुनै डर वा आशंका राख्नुपर्ने अवस्था नरहेको उल्लेख गर्दै सरकार निजी क्षेत्रलाई सहयोग र प्रोत्साहन गर्न प्रतिबद्ध रहेको बताए। “सरकारको उद्देश्य दबाब दिने होइन, सहज वातावरण सिर्जना गर्दै आर्थिक गतिविधि विस्तार गर्नु हो,” उनले भने।
उनले आफू धेरै बोल्नभन्दा निजी क्षेत्रका समस्या, चुनौती र सुझाव सुन्न आएको उल्लेख गर्दै पार्टीको वाचापत्रमै अर्थतन्त्र सुधारका लागि स्पष्ट मार्गचित्र प्रस्तुत भइसकेको बताए। सोही आधारमा सरकार अघि बढ्नुपर्ने उनको भनाइ थियो।
लामिछानेले सुशासन र आर्थिक वृद्धिलाई सँगसँगै अघि बढाइने नीति रहेको जनाउँदै आवश्यक परे केही क्षेत्रमा कडाइ अपनाइने संकेत गरे। “यस्ता कदम असहज लाग्न सक्छन्, तर समग्र प्रणाली सुधारका लागि आवश्यक हुन्छ,” उनले बताए।
निजी क्षेत्रलाई रोजगारी सिर्जनाको मुख्य आधारका रूपमा व्याख्या गर्दै उनले सरकार र व्यवसायीबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गरे। “सरकारबाट सीमित रोजगारी मात्र सिर्जना हुन्छ, व्यापक अवसर निजी क्षेत्रबाटै सम्भव छ,” उनले भने।
रुग्ण उद्योग पुनः सञ्चालनमा निजी क्षेत्रको चासोलाई सकारात्मक भन्दै उनले यसमा सरकार सहकार्यका लागि तयार रहेको बताए। उत्पादनमुखी उद्योगलाई प्रोत्साहन गर्ने नीतिगत तयारी भइरहेको संकेत पनि उनले दिए।
जलविद्युत् क्षेत्रमा आईपीओ जारी गर्ने विषयमा सरकार सतर्क रहेको जनाउँदै घाटामा रहेका कम्पनीलाई अनुमति दिँदा सर्वसाधारणको लगानी जोखिममा पर्न सक्ने भएकाले सावधानी अपनाइने उनले स्पष्ट पारे। कर प्रणाली सुधारतर्फ सरकार गम्भीर रहेको उल्लेख गर्दै अत्यधिक करभारलाई सन्तुलित बनाउन आवश्यक कदम चालिने बताए।
सनसेट कानुन, एमआरपी निर्धारण, उद्योग सञ्चालन अनुमति तथा लाइसेन्स प्रक्रियामा देखिएका जटिलता र ढिलाइप्रति सरकार सचेत रहेको उनले बताए। लामो समयदेखि रोकिएका परियोजनाहरू अघि बढाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
‘एलडीसी ग्राजुएसन’पछि देखिन सक्ने प्रभावबारे सरकार सजग रहेको जनाउँदै आवश्यक परे थप सहजीकरणका उपाय अपनाइने उनले बताए। सीमावर्ती क्षेत्रमा बढ्दो अवैध कारोबार र तस्करी नियन्त्रणमा सरकार सक्रिय रहेको पनि उनले जानकारी दिए।
लामिछानेले आफ्नो राजनीतिक धारलाई ‘अर्थराजनीति’ का रूपमा व्याख्या गर्दै निजी क्षेत्रमैत्री नीति निर्माणमार्फत अर्थतन्त्रलाई पुनर्जीवित गर्ने लक्ष्य रहेको बताए। सत्ता पूर्ण रूपमा आफ्नो नियन्त्रणमा नभएकाले केही काममा समय लाग्न सक्ने स्वीकार्दै उनले लक्ष्यप्रति प्रतिबद्धता कायमै रहने स्पष्ट पारे।
कार्यक्रमको अन्त्यमा उनले निजी क्षेत्रसँग निरन्तर संवाद र सहकार्यलाई प्राथमिकता दिइने उल्लेख गर्दै सरकार व्यवसायीहरूसँग मिलेर अघि बढ्न इच्छुक रहेको दोहोर्याए।



















