पुस ९, जनकपुरधाम। — बंगलादेशमा हिन्दु युवा दिपुचन्द्र दासको बर्बरतापूर्ण हत्या भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै रामानन्दीय वैष्णव संघ जनकपुरधामले विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ।
संघका अध्यक्ष तथा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बुधबार जनकपुरधामस्थित तुलसी स्मारकमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त घटनालाई धर्मको आडमा गरिएको अमानवीय र मानवताविरोधी अपराधको संज्ञा दिए।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दासले बंगलादेशमा पटक–पटक अल्पसंख्यक हिन्दु धर्मावलम्बीहरूलाई लक्षित गरी भइरहेका आक्रमण र हिंसाका घटनाप्रति सम्बन्धित निकायको मौनता गम्भीर चिन्ताको विषय भएको बताए। उनले दिपुचन्द्र दासको हत्या कुनै एक व्यक्तिमाथिको मात्र आक्रमण नभई समग्र मानव मूल्य, धार्मिक सहअस्तित्व र अल्पसंख्यक अधिकारमाथिको खुला प्रहार भएको उल्लेख गरे।
संघका अध्यक्ष दासका अनुसार भोलि बिहीबार दिउँसो ३ बजे जानकी मन्दिरको प्राङ्गणबाट विरोध र्याली सुरु गरिनेछ। र्याली जनकपुरधामका विभिन्न स्थानमा परिक्रमा गर्दै शान्तिपूर्ण रूपमा सम्पन्न गरिने योजना रहेको उनले जानकारी दिए।
विरोध कार्यक्रममा हिन्दु धर्मप्रति आस्था राख्ने सम्पूर्ण व्यक्ति, साधुसन्त, सामाजिक अभियन्ता तथा जनकपुरधामवासीलाई सहभागी हुन उनले अपील गरे। साथै, बंगलादेशमा अल्पसंख्यक हिन्दुहरूमाथि भइरहेको हिंसा अन्तर्राष्ट्रिय मानवअधिकारको गम्भीर उल्लङ्घन भएको उल्लेख गर्दै दोषीमाथि कडा कारबाहीका लागि नेपाल सरकारले कूटनीतिक पहल लिनुपर्ने माग पनि उनले गरे।
महन्थ दासले नेपाल सरकारलाई बंगलादेश सरकारसँग औपचारिक रूपमा विषय उठाई अल्पसंख्यकको सुरक्षाका लागि दबाब दिन आग्रह गरे। उनले चेतावनी दिँदै भने, “यदि बंगलादेशमा हिन्दुहरूमाथि भइरहेका आक्रमण रोकिएनन् भने हिन्दु समाज, साधुसन्त र धार्मिक संघसंस्थाहरू बंगलादेशविरुद्ध सशक्त प्रदर्शन गर्न बाध्य हुनेछन्।”
रामानन्दीय वैष्णव संघले उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतक दिपुचन्द्र दासप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। संघले धार्मिक सहिष्णुता, मानवता र शान्तिको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता जनाउँदै आगामी दिनमा पनि यस्ता घटनाविरुद्ध निरन्तर आवाज उठाइरहने जनाएको छ।
















