धनुषामा भोलि बिहान ६ बजेदेखि १० बजेसम्म कर्फ्यु आंशिक रूपमा खुला

१५ साउन , जनकपुरधाम।  जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा जारी कर्फ्यु आदेशलाई आंशिक रूपमा खुकुलो पारेको छ। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जारी गरेको सूचनाअनुसार शनिबार बिहान ६ बजेदेखि १० बजेसम्म सर्वसाधारणलाई अत्यावश्यक दैनिक उपभोग्य सामग्री खरिदका लागि कर्फ्यु आंशिक रूपमा खुला गरिएको हो।
कर्फ्युको समयमा सर्वसाधारणको दैनिक जीवन सहज बनाउन दूध, तरकारी, फलफूल, खाद्यान्नलगायत अत्यावश्यक वस्तु खरिद गर्न उक्त अवधिमा बाहिर निस्कन अनुमति दिइएको प्रशासनले जनाएको छ। सामान खरिद गरिसकेपछि आफ्नो निवासतर्फ फर्किन र कर्फ्युको पूर्ण पालना गर्न प्रशासनले आग्रह गरेको छ।
प्रशासनले कर्फ्युको समयमा पनि अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, शववाहन, पानी तथा दूध बोकेका सवारीसाधन र फोहोर बोक्ने गाडी लगायत अत्यावश्यक सेवाहरू सञ्चालनमा रहने जनाएको छ।
त्यस्तै, स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, रेडक्रसकर्मी, तीर्थयात्री, बिरामी तथा विमानस्थल जाने–आउने यात्रु र उनीहरूलाई लैजाने–ल्याउने व्यक्तिले परिचयपत्र वा प्रमाण बोकेर आवतजावत गर्न सक्ने व्यवस्था गरिएको छ।
प्रशासनले कर्फ्यु आदेशको उद्देश्य शान्ति–सुरक्षा कायम गर्नु रहेको भन्दै तोकिएको समयबाहेक अनावश्यक रूपमा बाहिर ननिस्कन तथा प्रशासनको आदेश पूर्ण रूपमा पालना गर्न सबैमा आग्रह गरेको छ।

  • सम्बन्धित समाचारहरु

    जनकपुरधाम उपमहानगरपालिकाद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, शान्ति र संयमताका लागि अपिल

    Read more

    धनुषामा सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता, अफवाह फैलाउने गतिविधि निरुत्साहित गर्ने निर्णय

    Read more