२१ बैशाख ,काठमाडौं ।— नयाँ शैक्षिक सत्र लक्षित गर्दै विद्यार्थी भर्ना, संस्थागत विद्यालयहरूको शुल्क निर्धारण तथा अनुगमन लगायतका विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्थानीय तहका प्रतिनिधिहरूसँग सौहार्दपूर्ण तथा समन्वयात्मक छलफल गरेको छ।
मन्त्रालयमा आज आयोजित छलफलमा नगरपालिका महासंघ र गाउँपालिका महासंघका पदाधिकारीहरूका साथै काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाका प्रमुखहरूको उपस्थिति रहेको थियो। मन्त्रालयले प्राप्त सुझाव र सहकार्यका लागि सहभागीहरूप्रति धन्यवाद व्यक्त गरेको छ।
छलफलमा शिक्षा मन्त्रालयका पदाधिकारी, गृह मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिहरू समेत सहभागी थिए। बैठकले शैक्षिक क्षेत्र सुधारका लागि संविधानले तोकेको जिम्मेवारी सहकार्य र सहअस्तित्वको आधारमा कार्यान्वयन गर्ने साझा निष्कर्ष निकालेको छ।
साझा समझदारीअनुसार संस्थागत विद्यालयहरूको शुल्क निर्धारण र प्रभावकारी अनुगमन, छात्रवृत्ति वितरणमा पारदर्शिता सुनिश्चित गर्ने काममा स्थानीय सरकारले अग्रसरता लिने र मन्त्रालयले आवश्यक सहयोग गर्ने सहमति भएको छ।
मन्त्रालयले आगामी दिनमा प्रदेश सरकारका शिक्षा सम्बन्धी निकाय तथा अन्य सरोकारवाला पक्षसँग पनि समन्वय र सहकार्यलाई थप सुदृढ गर्दै लैजाने जनाएको छ।



















