२२ फागुन, काठमाडौ । निर्वाचन आयोग ले धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा रोकिएको मतगणना प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।
आयोगले जिल्ला निर्वाचन अधिकारीको कार्यालयलाई पत्र पठाउँदै मतगणनासम्बन्धी उत्पन्न विवादका बीच प्रक्रिया निरन्तर अघि बढाउन निर्देशन दिएको हो। आयोगको निर्णयअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साह कमलको चुनाव चिन्ह ‘घण्टी’मा स्वस्तिक छाप लागेको अवस्थामा फेला परेका मतपत्रलाई पनि गणनामा समावेश गरी छुट्टै लगत राख्न भनिएको छ।
त्यस्तै, बुँदा नम्बर १ सम्म गणना भएका मतपत्रबाहेक बाँकी मतपत्रलाई नियमअनुसार गणना गरी निर्वाचन परिणाम सार्वजनिक गर्न निर्देशन दिइएको छ।
आयोगले आवश्यक सुरक्षा प्रबन्ध मिलाई यथाशीघ्र मतगणना कार्य पुनः सुरु गर्नसमेत निर्देशन दिएको छ। उक्त पत्र प्रदेश निर्वाचन कार्यालय, जनकपुरधामलाई पनि बोधार्थ पठाइएको छ।
निर्वाचन आयोगको यस निर्णयसँगै धनुषा–१ मा रोकिएको मतगणना प्रक्रिया फेरि अघि बढ्ने अपेक्षा गरिएको छ।

















