२१ फागुन, काठमाडौ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार दिउँसो ४ बजेसम्म देशभरका १६५ निर्वाचन क्षेत्रमा करिब ८८ लाख मत खसेको छ।
नेपाल प्रहरी का अनुसार देशभरका १० हजार ९६७ मतदान स्थलमध्ये दोलखा जिल्ला बाहेक अन्य सबै स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन करिब साढे तीन लाख सुरक्षाकर्मी परिचालन गरिएको छ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन कार्यक्रम रहेको छ। विभिन्न जिल्लाका मतदान केन्द्रहरूमा मतदाताहरू उत्साहपूर्वक सहभागी भइरहेको सम्बन्धित निकायहरूले जनाएका छन्।
निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षाकर्मी तथा निर्वाचन कर्मचारीहरू उच्च सतर्कताका साथ खटिएका छन्।

















