२१ फागुन, जनकपुरधाम। — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषा जिल्ला कार्यालयले धनुषा निर्वाचन क्षेत्र नम्बर १ का मतदातालाई प्रतिनिधिसभा र समानुपातिक गरी दुवै मतपत्रमा अनिवार्य रूपमा मतदान गर्न आग्रह गरेको छ।
जिल्ला सभापति लक्ष्मेश्वर यादवद्वारा जारी सूचनामा धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहसँग सम्बन्धित मुद्दा सर्वोच्च अदालत मा रिट नं. ०८२–८०–०९७२ का रूपमा विचाराधीन रहेको उल्लेख गरिएको छ। उक्त मुद्दा अन्तिम टुंगोमा नपुगेको अवस्थामा निर्वाचन प्रक्रियामा अन्योल नहोस् भन्ने उद्देश्यले मतदातालाई स्पष्ट सन्देश दिन आवश्यक भएको पार्टीले जनाएको छ।
सूचनाअनुसार २०८२ फागुन २१ गते हुने मतदानमा प्रतिनिधिसभा र समानुपातिक दुवै तहका मतपत्रमा मतदान गर्नु मतदाताको अधिकार र दायित्व दुवै हो। कुनै एक मतपत्रमा मात्र मतदान गरी अर्को मतपत्र खाली नछोड्न रास्वपाले आग्रह गरेको छ।
यसैबीच, निर्वाचन आयोग ले किशोरी साहको उम्मेदवारी खारेज गरेको छ। उम्मेदवारी खारेजीविरुद्ध साहले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्, तर सो रिटको पेसी निर्वाचनपछि मात्र तोकिएको छ।
रास्वपाले क्षेत्रीय, पालिका तथा वडा तहका सभापति, निर्वाचन परिचालन समिति र स्वयंसेवकलाई सबै मतदातासम्म जानकारी पुर्याउन निर्देशन दिएको जनाएको छ। मतदातामा देखिएको अन्योल, हल्ला वा भ्रम चिर्न तथा मतदान प्रक्रियामा सक्रिय सहभागिता सुनिश्चित गर्न पार्टी पंक्ति परिचालन गरिएको उल्लेख गरिएको छ।
पार्टीले आफ्ना शुभेच्छुक तथा समर्थकलाई लोकतान्त्रिक अभ्यास सुदृढ बनाउन उत्साहपूर्वक मतदान केन्द्रमा उपस्थित भई दुवै मतपत्रमा मतदान गर्न अपिलसमेत गरेको छ।



















